संसद विघटन : रिट निवेदकतर्फका कानून व्यवसायीको बहस आज सकिँदै

१३ असार, काठमाडौं । संसद विघटन र नयाँ सरकार गठनसम्बन्धी मुद्दाबारे आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

संसद विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानून व्यवसायीको बहस आज सकिँदैछ ।

असार ९ गतेदेखि सुरु भएको निरन्तर सुनुवाइमा आज रिट निवेदक तर्फका कानून व्यवसायीहरूले बहस गर्नेछन् ।

रिट निवेदक पक्षलाई इजलासले सुरुआती बहसको लागि १२ घण्टाको समय उपलब्ध गराएको थियो । त्यसमध्ये अब साढे २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ ।

पक्षको बहस सकिएपछि आजै मुद्दाको विपक्षी अर्थात सरकार पक्षको बहस सुरु हुने सम्भावना छ ।

सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।

निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् ।

निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानून व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले प्रतिनिधिसभा पुनःस्थापना र संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न मागदावी गर्दै रिट दायर गरेका थिए ।

संवैधानिक इजलासले यससम्बन्धमा परेका अन्य मुद्दाहरुलाई थाँती राख्दै यसलाई अग्राधिकार प्रदान गरेको छ ।

सो मुद्दामा नेपाल बार एशोसिएसन र सर्वोच्च बारका २/२ जना एमिकस क्यूरीले राय समेत दिनेछन् ।

१३ असार २०७८, आइतवार १०:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु