संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु भएको छ ।
मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसका लागि १५ घण्टाको समयसीमाबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् ।
प्रतिनिधिसभा विघटन लगायतका विषयमा परेका ३० वटा रिटमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख निवेदक भएको र विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यहरुले दायर गरेको रिटमा निरन्तरर सुनुवाई हुन लागेको छ ।
बहुमत सदस्यको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरिएको भन्दै तीसवटा रिट परेकोमा सबैभन्दा पहिला देउवा प्रमुख निवेदक भएको रिट उपर सुरुवाई हुनेछ ।
यसअघि जेठ २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरासहित वरिष्ठताका आभारमा गठित दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरी रिटमा विपक्षी बनाइएका सरकारपक्षलाई आजसम्म जवाफ पेश गर्न समय दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रति विद्यादेवी भण्डारी र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यसअघि नै जवाफ बुझाइसकेका छन् ।
संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिलले सुरुमा १२ घण्टा र पछि जवाफी बहसका लागि ३ घण्टा गरी १५ घण्टा बहस गर्न पाउनेछन् । त्यस्तै विपक्षीलाई पनि १५ घण्टाको समय दिइएको छ ।
निरन्तर बहस हुँदा संवैधानिक इजलासको फैसला आउन धेरै समय नलाग्ने कानूनका जानकारहरु बताउँछन् ।
९ असार २०७८, बुधवार ११:०५ बजे प्रकाशित