सर्वोच्चलाई केपी ओलीको प्रश्न– देउवा प्रधानमन्त्री भए भने एमाले सत्तापक्ष हुन्छ कि प्रतिपक्ष ?

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न रिट निवेदनको मागअनुसार आदेश दिएमा एमालेको अवस्था के हुने भनेर प्रश्न गरेका छन् ।

एमालेका २३ सांसदले पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । उक्त विषयलाई लिएर ओलीले अदालतलाई प्रश्न गरेका हुन् ।

सर्वोच्च अदालतले सोधेको कारण देखाउ आदेशको जवाफमा ओलीले उल्टै सोधेका छन्, -विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने ?

संविधानले प्रमुख विपक्षी दलको नेताको परिकल्पना गरेको उल्लेख गर्दै ओलीले अगाडि सोधेका छन्- नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई विभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ ।

कथंकदाचित रिट निवेदकहरूले माग गरे बमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ ?

मैले नेतृत्व गरेको नेकपा (एमाले) सत्तापक्ष हुन्छ कि प्रतिपक्ष ? किनभने श्री शेरबहादुर देउवा त नेकपा (एमाले)कै प्रतिनिधिसभा सदस्यको समर्थनमा प्रधानमन्त्री बनेको अवस्था हुनेछ । एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्दैन ।

एमालेका सांसदको समर्थनमा देउवा प्रधानमन्त्री बनेमा एमाले र जनता समाजवादी पार्टीभित्र विवाद आउने ओलीको भनाइ छ । उनले एउटै दल सत्तापक्ष र प्रतिपक्षमा रहनुपर्ने अवस्था हुन नसक्ने बताएका छन् ।

३ असार २०७८, बिहीवार १३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु