डेन्जर जोनमा शंकर पोखरेल र शेरधन राई

१ असार, काठमाडौं । कर्णाली र सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीहरुको विश्वासको मत लिएर पद सुरक्षित गरेलगत्तै विपक्षी गठबन्धन प्रदेशहरुमा आक्रामक रुपमा उत्रिएका छन् ।

विपक्षी गठबन्धनले एमालेबाट गण्डकी प्रदेशको सरकारको नेतृत्व खोसेको छ । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध एकजुट भएका विपक्षी गठबन्धनले आफूपक्षीय मुख्यमन्त्री पद सुरक्षित गरेलगत्तै आक्रामक रणनीति कार्यान्वयनमा ल्याएका हुन् । अब लुम्बिनी र प्रदेश १ मा सरकार ढाल्ने मनस्थितिमा विपक्षी गठबन्धन पुगेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पदमा टिकिरहन दिन नहुने कांग्रेस, माओवादी केन्द्रका नेताहरूको भनाइ छ ।

प्रदेशको विकासभन्दा ओलीको कुर्सी कसरी जोगाउनेमा दिनरात लागेकाले पोखरेललाई अहिले नै बिदाइ गरिहाल्नुपर्ने निचोडमा विपक्षी गठबन्धन पुगेको हो ।

सोही कारण तत्काललाई लुम्बिनीमा माओवादी केन्द्र र प्रदेश १ मा एमालेको माधव नेपाल पक्षलाई मुख्यमन्त्री दिएर अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य सुरु भएको स्रोतले बतायो । एमालेमा ओली पक्षका मुख्यमन्त्री रहेको प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकार धरापमा छ ।

लुम्बिनीमा पोखरेल र प्रदेश १ मा शेरधन राईलाई हटाएपछि मात्रै बागमती प्रदेशमा सरकार परिवर्तनको खेल सुरु हुने बुझिएको छ । उच्च स्रोतका अनुसार बागमती प्रदेशका डोरमणि पौडेललाई हटाएर कांग्रेसबाट मुख्यमन्त्री बनाउने गरी विपक्षी गठबन्धनले गृहकार्य थालेका छन् ।

यद्यपि अहिले बागमती प्रदेशमा एमालेमा एकढिक्का देखिएको छ । सरकारको नीति तथा कार्यक्रम पास गर्ने तर बजेट भने फेल गराएर पौडेल नेतृत्वको सरकार ढालिने भएको छ । प्रदेश २ मा भने जसपाको उपेन्द्र यादव पक्षको नेतृत्वमा सरकार कायमै रहनेछ ।

१ असार २०७८, मंगलवार ११:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु