वैद्यलाई गिरफ्तार गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र (पत्रसहित)

३१ जेठ, काठमाडौं । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ ।
उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्ययको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।
उनीहरुले आफ्नो सांसदले आपत्तिजना अभिव्यक्ति दिँदा पनि नेपाली कांग्रेसले अझै मौनता साँधेको भन्दै विरोध जनाएको छ । ‘कांग्रेस हत्या हिंसामा विश्वास नगर्ने पार्टी हो भने र संसदीय मूल्य मान्यता र संसदको गरिमा कायम राख्न निज वैद्यलाई अविलम्ब सांसद पदबाट हटाउन माग गर्दछौं’ उनीहरुको ज्ञापनपत्रमा भनिएको छ ।
एमालेका भातृ संगठन तथा पेशागत संगठनका प्रतिनिधिले प्रदेशसभामा आपत्तिजनक अभिव्यक्ति दिँदा सांसदहरुले विरोध नगर्नु खेदजन्य विषय भएको बताएका छन् ।
गत शुक्रबार वाग्मती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका थिए । आफ्नो अभिव्यक्तिको विरोध भएपछि उनले प्रदेशसभामा माफी मागेका थिए ।
३१ जेठ २०७८, सोमवार १६:०८ बजे प्रकाशित