सरकारमा सहभागी मन्त्रीहरुलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

चित्र बुझ्दो जवाफ नदिए कारवाही

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका मन्त्रीहरुलाई स्पष्टीकरण सोधका छन् ।

अध्यक्ष यादवले मन्त्रीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहितको जवाफ दिन भन्दै पत्र लेखेका हुन् । यादवले ओली सरकारमा मन्त्री बनेका राजकिशोर यादव, अनिलकुमार झा, चन्दा चौधरी, शरतसिंह भण्डारी, एकवला मियाँ, चन्द्रकान्त चौधरी, रेणुका दाहाल, उमाशंकर अरगरिया र विमल श्रीवास्तवलाई स्पष्टीकरण सोधेका छन् ।

जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारमा सामेल भएमा पार्टीबाट स्वतः निष्काशन हुने निर्णय भएपनि पार्टीको सो निर्णय विपरित सरकारमा सामेल भइसकेकाले उनीहरुमाथि स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ । उनीहरु पार्टी निर्णय विपरित सरकारमा सामेल भैसकेकोले सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन पत्रमा भनिएको छ ।

सरकारमा सहभागी भएकाहरुले राजनीतिक दल सम्बन्धी ऐन र पार्टीको अन्तरिम विधान  विपरित कार्य गरेको हुनाले पत्र प्राप्त भएको सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिन भनिएको छ ।

मन्त्रीहरुलाई लेखिएको पत्रमा ओलीको संसद विघटन गर्ने आलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको भन्ने प्रश्न गर्दै केन्द्रीय कार्यकारिणी समितिको २०७८ जेठ ९ गतेको निर्णय अवज्ञा गरी ओली सरकारमा किन सामेल भएको भनि स्पष्टीकरण मागिएको छ ।

संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेताको रुपमा हस्ताक्षर गरी स्वीकार गर्नुभएको भन्दै पत्रमा पार्टी अनुशासन र आचारसंहिता विपरित स्वेच्छाचारिता बढाउने कामहरूलाई किन प्रश्रय दिएको भन्ने प्रश्न गरिएको छ ।

पत्र प्राप्त भएको म्यादभित्र चित्तबुझ्दो जवाफ पठाउन आग्रह गर्दै भनिएको छः ‘पार्टीमा गुटबन्दी गर्ने, अनुशासन भंग गर्ने गराउने कार्य भइरहेकोले यस सन्दर्भमा पत्र प्राप्त भएको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा तपाईलाई राजनीतिक दल सम्बन्धी ऐन र पार्टीको विधानअनुसार कारवाही गरिनेछ ।’

पत्रमा शनिबारको मिति उल्लेख भएपनि उनीहरुलाई आइतबार पत्र पठाएको स्रोतले जनाएको छ । ओली सरकारमा मन्त्री बनेका राजेन्द्र महतो र लक्ष्मणलाल कर्णलाई यसअघि नै कारवाही गरिसकिएको हुनाले स्पष्टीकरण सोधिएको छैन ।

३१ जेठ २०७८, सोमवार ०७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु