एकाबिहानै गण्डकी प्रदेश प्रमुखलाई प्रधानमन्त्री ओलीको फोन !
नयाँ सरकार गठनबारे छिनोफानो हुँदै

गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारेको छिनोफानो शनिबार हुँदैछ ।
शुक्रबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले बहुमतको सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकोमा सोमा दावी गर्दै विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका छन् ।
प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेश सभा सदस्यले काँग्रेसका कृष्ष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्रीमा प्रस्तुत गर्दै दावी प्रस्तुत गरेका हुन् ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो । ६० सदस्यीय गण्डकीको प्रदेशसभामा बहुमतको सरकार बनाउन ३१ सांसद चाहिन्छ ।
यसैबीच बहुमत पुर्याएर प्रदेश प्रमुखसमक्ष दावी प्रस्तुत गर्दा पनि नियुक्तिमा ढिलाइ गरिएको काँग्रेसले असन्तुष्टि पोखेको छ ।
काँग्रेस उपसभापति विमलेन्द्र निधिले बहुमत पुग्ने ३१ जना सदस्य सहित उपस्थित भएपनि नेपालीलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा तत्काल नियुक्ति नगर्नु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन भएको बताए । चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन नभएको भन्दै उनले किन आजसम्मको म्याद पर्खिएको भन्दै प्रश्न गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले एकाबिहानै गण्डकी प्रदेश प्रमुखलाई टेलिफोन गरेका छन् । स्रोतका अनुसार टेलिफोन कुराकानी भएको छ ।
२९ जेठ २०७८, शनिवार ०९:२८ बजे प्रकाशित