प्रदेशसभामा मुद्दाको टुंगो नलागेसम्म मन्त्री थापा उपस्थित नहुने सहमति

तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक आजदेखि सुचारु भएको छ । बिहीबार बसेको सर्वदलीय बैठकको सहमति अनुसार प्रदेशसभाको बैठक सुचारु भएको हो ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा दलहरुबीच विवादित मन्त्री अम्मर थापाको मुद्धाको टुंगोे नलागुन्जेलसम्म संसदमा उपस्थित नहुने सहमति भएपछि प्रदेशसभा सुचारु भएको हो ।

प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आएको थियो ।

मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने र बैठक नियमित गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

२७ जेठ २०७८, बिहीवार १९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु