ओलीको कुरामा भीम रावल सहमत !

१६ जेठ, काठमाडौं । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएको पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको विषयप्रति भीम रावल सहमत भएका छन् ।

तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पार्टीका नेताहरु अनुशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको बताए ।

आफ्नै पार्टीका नेताहरुप्रति आक्रोश पोख्दै अध्यक्ष ओलीले भने, ‘तीनले खाएको सपथ झुटो हो, तीनका सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त ।

तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरू हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकता उत्रिन्छ ।

सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ । यो चिन्ताको विषय छ ।’

आफ्नै पार्टीको सरकार ढाल्न लागेर पार्टी अनुशासनहिन र अराजक व्यवहार माधवकुमार नेपाल समूहका नेताहरु देखाएको भन्दै अध्यक्ष ओलीले आक्रोश पोखेका हुन् ।

यसको केही घण्टामा पछि कारबाहीमा परेका नेपाल समूहका नेता भीम रावलले अध्यक्ष ओलीको तर्कप्रति समर्थन जनाउँदै कटाक्ष गरेका छन् ।

पार्टीको नेतृत्व अनुशासनहिन र अराजक भएको तर्कप्रति समर्थन जनाउँदै उनले पार्टीको विधान, निर्वाचित कमिटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता नै अध्यक्ष ओली रहेको आरोप लगाए ।

सामाजिक सञ्जाल ट्वीटरमा यसबारे रावलले लेखेका छन्, ‘प्रम केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ।

हो, पार्टी महाधिवेशनको निर्णय, विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो ।’

१६ जेठ २०७८, आइतवार २०:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु