अपमान र पीडा व्यहोरेर पनि पार्टी एकताका लागि प्रयत्नशील छु : प्रधानमन्त्री ओली

निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह

१४ जेठ, काठमाडौं । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा  ओलीले आफू सबैखाले अपमान र पीडा व्यहोरेर पनि पार्टी एकताका लागि प्रयत्नशील रहेको बताए ।

ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

‘कहिले पार्टीका उम्मेदवार हराउन विपक्षीसँग साँठगाठ गर्ने, कहिले संसदमा अनपस्थित भएर आफ्नै पार्टीको सरकारलाई अप्ठेरोमा पार्ने त कहिले प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने त कहिले विपक्षी नेतालाई प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने खालका विकृति देखा परेका छन्’, उनले भने, ‘२०४८ सालपछि देखिएका संसदीय विकृति अहिले फेरि दोहोरिन थालेका छन् ।’

प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गरे ।

प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे ।

ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने बताएका छन् ।

ओलीले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए । ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् ।

उनले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए ।

नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको उनले बताए । आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको जिकिर गरे ।

‘मैले पनि विश्वासको मत प्राप्त गर्न नसक्ने र अर्को पनि विकल्प दिन नसकेपछि संवधानिक वाध्यताअनुसार संसद विघटन गर्नु परेको हो,’ उनले भने, ‘देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि चुनावमा जानुको विकल्प थिएन ।’

आफ्नो लागि सत्तामा रहनु र नरहनु प्रमुख विषय नभएकोमा जोड दिए । उनले भने, ‘हाम्रो लागि सत्ता साधन मात्र हो साध्य होइन । हाम्रो लागि साध्य भनेको राष्ट्रिय अस्मिता र स्वाभिमानको संरक्षण हो ।’

ओलीले आज भइरहेको अराजकता तथा असंसदीय र अलोकतान्त्रिक चरित्रले लोकतान्त्रिक पद्दतिप्रति नै जनतामा वितृष्ण उत्पन्न गर्ने चिन्ता बढेको बताए ।

१४ जेठ २०७८, शुक्रवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु