सुदूरपश्चिममा एमालेका मन्त्रीहरूले राजीनामा नदिने

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् ।

एमालेको स्थायी कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिए पनि संसदीय दलको निर्णय मानेर आफूहरूले राजीनामा नदिने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज कर्ण थापाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएर पत्र पठाउनुभएको छ तर बुधवार (हिजो) बसेको संसदीय दलको बैठकले अहिले एमाले सरकारबाट बाहिरिँदा झनै सङ्कट आउने भएकाले मुख्यमन्त्री त्रिचोलन भट्टलाई दिएको साथ नछाड्ने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेश सभामा एमालेभित्र माधव नेपाल पक्षको बहुमत छ ।

महामारीको यो अवस्थामा सरकारले प्रभावकारी काम गर्नुपर्नेमा उल्टै राजीनामा दिँदा नागरिकमा गलत सन्देश जाने भएकाले आफूहरूले राजीनामा नदिने मन्त्री सुवेदीले बताउनुभयो ।

‘नागरिक बचाउने बेलामा अस्थिरता निम्त्याउनु हुँदैन, एमाले जस्तो जिम्मेवार पार्टी समस्याबाट भागेको जस्तो देखिन्छ, त्यसैले अहिले हामीले कोरोना महामारी नियन्त्रण र नागरिकको औषधि उपचारमै ध्यान दिने निर्णय गरेका छौँ’। मन्त्री सुवेदीले भन्नुभयो ।

अहिले एमालेले छाडेमा तत्कालै अर्को सरकार बन्ने अवस्था नरहेको र अवस्था सहज भएपछि एमालेकै सरकार बनाउन प्रयत्न गर्ने पनि प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीले बताउनुभयो ।

सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा बहुमतका लागि २७ जना सदस्य आवश्यक पर्छ । जसमध्ये एमालेका सभामुखसहित २५ जना सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रका १४ सांसदमध्ये झपट बोहरा एमालेमा प्रवेश गरेकाले जम्मा १३ जना सांसद रहेका छन् ।

१३ जेठ २०७८, बिहीवार १४:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु