सभामुख सापकोटालाई पूर्वसभामुख महराको सुझाव– संसद् बैठक बोलाउन तयार रहनुस्

पूर्वसभामुख कृष्णबहादुर महराले सभामुख अग्नि सापकोटालाई आवश्यक परे संसद्को बैठक बोलाउन सभामुख तयार रहनुपर्ने सुझाव दिएका छन् ।

अहिले मुद्दा अदालतमा पुगेकाले तत्कालै संसद् बैठक बोलाउँदा नकारात्मक सन्देश जाने र अदालतलाई नै अहिले सहयोग गर्नुपर्ने तर आवश्यक पर्दा सभामुखले विशेषाधिकार प्रयोग गर्न तयार हुनुपर्ने सुझाव दिएका हुन् ।

मंगलबार सभामुख अग्नि सापकोटालाई पूर्वसभामुखहरुको छलफल बोलाएका थिए । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा पूर्वसभामुख कृष्णबहादुर महराले आवश्यक परे संसद्को बैठक बोलाउन सभामुख तयार रहनुपर्ने सुझाव दिएको एक पूर्वसभामुखले जानकारी दिए ।

पूर्वसभामुख ओनसरी घर्तीले पनि अन्तिम विकल्पमा संसद् बोलाउन तयार रहनुपर्ने सुझाव दिएको स्रोतले जानकारी दियो ।

“अन्तिम विकल्प हो । सकेसम्म यसमा जान नपरोस्,” स्रोतले भन्यो, “जानै पर्‍यो भने संसद् बैठक बोलाउन तयार रहनूहोला भन्ने पूर्वसभामुखहरुको सुझाव थियो ।”

पूर्वसभामुखहरुको सुझावपछि सभामुख अग्नि सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार भएको बताएका थिए ।

पूर्वसभामुखहरुले दुई दुईपटक विघटन गरिएको हुँदा पूर्णयता असंवैधानिक रहेको बताएका थिए ।

पूर्वसभामुख रामचन्द्र पौडेलले देश संकटपूर्ण अवस्थामा रहेको बेला नै जनप्रतिनिधि सभा नभएको बताउँदै सदनबाटै निकास दिनुपर्ने बताएका थिए ।

“राजनीतिकरुपमा संकटग्रस्त अवस्थामा पुर्‍याइएको छ । देश संकटग्रस्त छ । यस्तो संकटको बेलामा प्रतिनिधिसभा छैन,” पौडेलले पत्रकारहरुसँग कुरा गर्दै भने, “सदनबाटै निकास पाउनुपर्छ । जनतको अस्तित्वमाथि कसैले पनि खेलवाड गर्नुहुँदैन । केही कदम चाल्नुपरे म तयार छु भनेर सभामुखले भन्नुभयो । संसद्को रक्षाका लागि उहाँले कुनै पनि कदम चाल्न तयार रहेको बताउनुभयो ।”

पूर्वसभामुख ओनसरी घर्तीले सरकार बन्ने अवस्था रहँदा रहँदै पनि संसद् विघटन हुनु दुखद् भएको बताइन् ।

“परामर्शको सवालमा अरुसँग पनि छलफल गर्ने बताउनुभयो,” उनले भनिन्, “हामी सबैले एउटै स्वरमा प्रतिनिधि सभा भनेको जनताको प्रतिनिधित्व गर्ने संस्था हो । चारैवटा विकल्प फेल हुने अवस्थामा बल्ल विघटन गर्ने व्यवस्था छ ।”

रक्षकले नै भक्षकको काम गरेको भन्दै निन्दा गरिएको उनले जानकारी दिइन् ।

नेम्वाङ अनुपस्थित

नेकपा एमालेका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले पूर्वसभामुखहरुको छलफल बहिष्कार गरेका छन् । मंगलबार सभामुख अग्नि सापकोटालाई पूर्वसभामुखहरुको छलफल बोलाएका थिए ।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा नेम्वाङ अनुपस्थित थिए । स्रोतका अनुसार उनले आफू सामूहिक छलफलमा नआउने जानकारी गराएका थिए ।

११ जेठ २०७८, मंगलवार १७:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु