संसद विघटनविरुद्ध सभामुखलाई थप सक्रिय हुन पूर्वसभामुखहरुको सुझाव

११ जेठ, काठमाडौं । पूर्वसभामुखहरुले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभा विघटनविरुद्ध थप सक्रिय भएर छलफल र वार्ताहरुमा जुट्न सुझाव दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको भन्दै त्यसका विरुद्ध जनमत निर्माणको पनि आवश्यकता औंल्याएका छन् ।

पूर्वसभामुख ओनसरी घर्तीका अनुसार राजनीतिक दलहरुको बीचमा दुरी कम गराउन एकआपसमा वार्ता गराउने, विज्ञ र सरोकारवालाहरुसंग संस्थागत रुपमा र व्यक्तिगतरुपमा परामर्श गर्ने र प्रतिनिधिसभा विघटन विरुद्ध जनमत निर्माण गर्न सभामुखले भूमिका निर्वाह गर्न सक्छन् ।

यसमा सभामुख सापकोटा त्यसका लागि सकारात्मक रहेको उनले बताइन् ।
संविधानको धारा १०३ मा प्रतिनिधिसभाको विशेषाधिकारको विषयमा समेत बैठकमा छलफल भएको छ ।

‘संविधानको संविधानको धारा १०३ सदनको विशेषाधिकार हो । यस विषयमा पनि चर्चा भएको छ । यो कानुनी, संविधानको व्यवस्था भन्दा पनि बढी राजनीतिक सवाल हो । राजनीतिक सवालमा राजनीतिक रुपले भोलिको दिनमा बिभिन्न प्रकरका स्टेपहरु हुन सक्छ’ छलफलपछि घर्तीले भनिन् ।

सरकार निर्माणको चार वटा चरण संविधान रहेको र त्यसको प्रयोग नभइ प्रतिनिधिसभा विघटन भएको निष्कर्ष पनि पूर्वसभामुहरुको रहेको उनले जानकारी दिइन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको साझा निष्कर्ष रहेको उनले बताइन् ।
‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले जानकारी दिइन् ।

बैठकमा पूर्वसभामुख घर्तीसँगै कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए भने एक जना भर्चुअल माध्यमबाट उपस्थित थिए । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित थिएनन् ।

११ जेठ २०७८, मंगलवार १७:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु