वर्तमान सरकारले मन्त्रिपरिषद विस्तार गर्न सक्छ ? विज्ञ भन्छन्- संविधानको घोर उल्लंघन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार रिमालको तर्क– वर्तमान सरकारलाई फुल फ्ल्लेजमा काम गर्न संविधानले छेक्दैन

११ जेठ, काठमाडौं । वर्तमान सरकार कामचलाउ सरकार हो कि होइन ? भन्ने बहस पनि छ ।

प्रतिनिधिसभा विघटन गरेर आगामी कार्तिक २६ गते र मंसिर ३ गतेलाई चुनाव घोषणा गरेको सरकारले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने कतिपय कानुनविदहरुको तर्क छ ।

प्रतिनिधिसभा सदस्य नभएमा प्रधानमन्त्री तथा मन्त्री पद स्वतः रिक्त हुने भनी संविधानको धारा ७७ को उपधारा १ को (क) व्यवस्था छ । यहि व्यवस्था देखाएर विज्ञहरु प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री र त्यही प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको घोर उल्लंघन भएको बताउँछन् ।

संविधानको धारा ७७ मा प्रधानमन्त्री र मन्त्रीको पद रिक्त हुने व्यवस्था छ, सोही धाराको उपधारा १ को (ग) मा प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री र मन्त्री नहुने व्यवस्था छ ।

यी व्यवस्था अनुसार हालका प्रधानमन्त्री र मन्त्रिपरिषद् प्रतिनिधिसभा विघटनपछि स्वतः काम चलाउ भएको बताउँछन् नेपाल बार असोसीएशन पूर्वअध्यक्ष शेरबहादुर केसी ।

‘कामचलाउ सरकारले, अल्मतको सरकारले मन्त्रिपरिषद विस्तार गर्न मिल्दैन संविधानत । गरे संविधानको घोर उल्लंघन हुन्छ’ उनी भन्छन्, ‘तर, प्रधानमन्त्री ओलीलाई कसले बाँध्ने ? संविधानभन्दा बाहिर गएर निरन्तर गलत गरिरहनुभएको छ । गलत नगरिदिए हुन्थ्यो भन्ने न हो ।’

प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार भने वर्तमान सरकार कामचलाउ सरकार नभएको बताउँछन् । र वर्तमान सरकारलाई फुल फ्ल्लेजमा काम गर्न संविधानले नछेक्ने उनको तर्क छ ।

‘अन्तरिम संविधान २०६३ मा कामचलाउ सरकार भन्ने छ । त्यसको आधारमा अहिले अर्थ लगाइराखिएको छ’ उनी भन्छन्, ‘तर, हाम्रोमा अहिले संविधानको अक्षरहरुको ब्याख्या गर्ने चलन छ । अक्षरकै कुरा गर्ने भए नेपालको संविधानमा कामचलाउ भन्ने नै छैन् ।

’संवैधानिक रुपमा बर्तमान सरकारले यो गर्न पाउने, नपाउने भन्ने संविधानत कुनै रोकतोन नरहेको पनि उनले बताए ।

‘संविधानको धारा ७६ को बिभिन्न उपधारा अनुसार सरकार बन्छन् । ति व्यवस्था अनुसार एउटा सरकार विस्थापित भएपछि मात्रै अर्को सरकार बन्छ । अर्को सरकार बन्नुभन्दा अगाडिको विस्थापित भएको सरकारले काम गर्ने हो र फुल फ्ल्लेजले काम गर्ने अधिकार छ ।’

जसपालाई सरकारमा लैजाने कसरत

राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा जान तयार भएको छ ।

नेताहरुका अनुसार सरकारमा सहभागि हुन ठाकुर र महतो पक्ष सहमत भएका छन् । तर, आन्तरिक छलफल जारी रहेका कारण औपचारिकता पाउन केही दिन लाग्ने बताइएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई जसपालाई सरकारमा सहभागि गराउने कसरत भइरहेको बताउँछन् ।

‘जसपा सरकारमा सहभागि हुन्छ । तर, औपचारिकता पाउन केही दिन लाग्छ’ भट्टराईले भने ।
जसपाका नेता अनिल झाले पनि सरकारमा जाने बताए । ‘सरकारमा जाने त फाइनल्ली नै छ । तर कहिले जाने भन्ने तय भएको छैन् । दुई–चार दिन लाग्ला, केही कुराहरु बाँकी छन्’ नेता झाले भने ।

जसपाका अर्का नेता विमल श्रीवास्तवले सरकारमा जाने वातावरण तयार भएको बताए । नागरिकता अध्यादेश आएपछि सरकारमा जाने वातावरण बनेको उनको भनाई छ ।

‘मधेश आन्दोलनका क्रममा लगाइएका केही मुद्धा फिर्ता भएको छ । नागरिकता अध्यादेश पनि आयो । यसले सरकारमा जाने वातावरण बनेकै छ’ उनले भने ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन ९पहिलो संशोधन० अध्यादेश, २०७८ जारी गरेकी छन् । जसपाको ठाकुर र महतो पक्षको आग्रह अनुसार सरकारले उक्त अध्यादेश ल्याएको हो ।

यस्तै, सरकारले संविधान संशोधनबारे सुझाव दिन कार्यदल गठन गरेको छ । यो पनि जसपाको ठाकुर र महतो पक्षको आग्रह अनुसार भएको हो ।

कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल छन् भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् ।

जसपाको ठाकुर पक्षले मधेश आन्दोलनका क्रममा आफ्ना कार्यकर्ताविरुद्ध लगाइएका मुद्धा फिर्ता, रेशम चौधरीको रिहाई, संविधान संशोधन, नागरिकता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरे सरकारमा सहभागि भएरै साथ दिने शर्त प्रधानमन्त्री ओली समक्ष राखेको थियो ।

रेशम चौधरीको रिहाईका लागि प्रक्रिया अगाडि बढेको जसपाकै नेताहरु बताउँछन् । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय भने सम्बोधन हुन बाँकी छ ।

आफुहरुले राखेका मागहरु सम्बोधन हुँदै गएकाले सरकारमा जाने वातावरण तयार भएको बताउँछन् जसपाका अर्का नेता उमाशंकर अरगरिया । तर, औपचारिकता पाउन केही दिन लाग्ने उनले पनि बताए । ‘अब सरकारमा सहभागि हुन सकिन्छ । तर, औपचारिक निर्णय भएको छैन् । औपचारिकताका लागि केही दिन लाग्छ’ उनले भने ।

११ जेठ २०७८, मंगलवार १३:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु