विपक्षी गठबन्धनको संयुक्त बैठक बानेश्वरमा सुरु

८ जेठ, काठमाडौं । बानेश्वरस्थित संघीय संसद भवनमा विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु भएको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा कसरी प्रतिरोध गर्ने भन्नेबारे रणनीति बनाउन संयुक्त छलफल गर्न बैठक बसेको हो ।
शुक्रबारराति प्रतिनिधि सभा विघटन भएलगत्तै राजनीतिक दलहरु बिहानैदेखि आन्तरिक, औपचारिक र अनौपचारिक छलफलमा व्यस्त छन् । आन्तरिक छलफलपछि उनीहरु अहिले संयुक्त छलफलमा सामेल भएका हुन् । बैठकमा राष्ट्रिय जनमोर्चासमेत सहभागी भएको बताइएको छ ।
विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका १४९ सांसदहरुलाई बानेश्वरस्थित संघीय संसद भवनमा बोलाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान बमोजिम संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनका १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति देउवाले शुक्रबार राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए ।
१४९ जनाको हस्ताक्षरसहित दाबी पेस गर्दासमेत प्रधानमन्त्रीमा नियुक्त नगरि प्रतिनिधि सभा नै विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्ने कदमलाई विपक्षी गठबन्धनले प्रतिगमनको रुपमा लिएको छ ।
८ जेठ २०७८, शनिवार १३:०० बजे प्रकाशित