एमाले विवाद समाधान कार्यदल भंग

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदल भंगको स्थितिमा पुगेको नेताहरुले बताएका छन् ।
आज सिंहदरबारमा बसेको कार्यदलको बैठकमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बारे छलफल भएको र मुख्य एजेण्डामा छलफल नै नभई टुंगिएको नेताहरुले बताएका छन् ।
करीव डेढ घण्टाको छलफल पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै सांसदले हस्ताक्षर गरेको कुरा उठेपछि त्यसमै केन्द्रित रहेको केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले बताए ।
नेम्वाङका अनुसार माधव नेपाल पक्षका वार्ता टोली संयोजक भीम रावलले भने संसदको विघटन रोक्नका लागि हस्ताक्षर गरिएको जवाफ दिएका थिए ।
रावलको भनाइ उदृत गर्दै एक वार्ताकारले भने–शेरबहादुरलाई प्रधानमन्त्री नबनाई संसद विघटन रोक्न नसकिने भइयो,त्यसैले हस्ताक्षर गरेका हौं । प्रधानमन्त्रीको नियत संसद विघटन गर्ने देखियो र उहाँको नियत पार्टी एकताको पक्षमा पनि देखिएन ।
मुख्य एजेण्डामा खासै छलफल हुन नसकेपछि अर्को बैठक आपसी समझदारीमा तय गर्ने गरि आफूहरु उठेको नेम्वाङले बताए । यसबीचमा आफ्ना आन्तरिक छलफल र गृहकार्य हुने उनले जानकारी दिए ।
माधव नेपाल विपक्षी गठबन्धनमा लागिसकेको र नेपाल पक्षका कतिपय सांसदले हस्ताक्षर दुरुपयोग भयो भनिरहेको सन्दर्भमा अब कार्यदलको अर्को बैठक नबसी भंग हुन सक्ने स्थिति रहेको नेताहरुले बताएका छन् ।
७ जेठ २०७८, शुक्रवार १८:२१ बजे प्रकाशित