केपी ओली पुनः प्रधानमन्त्री नियुक्त, सितल निवासमा शपथ

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

शपथ अपरान्ह हुनेछ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएनन् ।

बहुमत नपुग्ने भएपछि कांग्रेस(माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन ।

त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिएकी हुन् ।

प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ ।

त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

३१ वैशाख २०७८, शुक्रवार ०६:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु