माधव नेपालसहित ४ नेताको निलम्बन फुकुवा

नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ । कामचलाउ प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी भित्रका असन्तुष्ट नेताहरुलाई गरिएको कारबाही फर्ता गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीको पक्षमा विश्वासको मत समेत नदिएका झलनाथ खनाल, माधवकुमार नेपाल पक्षका नेताहरुलाई गरिएको निलम्बन लगायतको कारबाही फिर्ता गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

बैठकले पार्टी एकता कायम राख्नका लागि बरिष्ठ नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको निलम्बनको कारबाही फुकुवा गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

नेता नेपाल खनाल पक्षले भने एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने ओली तयार भएमात्रै सहमति हुन सक्ने बताइरहेको छ । स्थायी कमिटीले गरेको निर्णय पछि माधवकुमार नेपाल पक्षको वैठक बस्दैछ ।

अब के गर्ने भनेर धारणा तय गर्न बैठक बस्न लागेको एक नेताले बताए । प्रधानमन्त्री ओली अल्पमतमा परेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजे सम्ममा बहुमतका आधारमा दुर्इ वा दुई भन्दा धेरै दल मिलेर प्रधानमन्त्रीको दावी गर्न समय दिएकी छन् ।

जसका लागि पहल गरिरहेका काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल खनाल पक्षको समेत सहयोगको अपेक्षा गरिरहेका छन् । देउवालाई सहयोग पुरयाउन तयार देखिएको नेपाल पक्षले स्थायी कमिटीको निर्णयलाई कसरी लनेछ भन्ने प्रतिक्रिया जनाईसकेको छैन ।

जेठ २ गतेको निर्णयमा पार्टीलाई फर्काउनु पर्छ भन्ने उनिहरुको बटमलाईन कायम रहेमा आजै नेपाल खनाल पक्षका केही सांसदले राजीनामा दिने र देउवाको पक्षमा सरकार बन्ने संभावना रहेको श्रोतले बतायो ।

३० वैशाख २०७८, बिहीवार ११:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु