नयाँ दल दर्ता हुँदै, माधव – बामदेव अध्यक्ष, पदाधिकारीमा को को ?
सत्तारुढ नेकपा एमाले पार्टी विभाजन लगभग निश्चित भएको छ । यसका लागि माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पूरै तयारी गरिसकेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नयाँ दलको खाका तयार गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् ।
त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् । नयाँ दलको नाम नेपाली कम्युनिष्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् । वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् ।
दलको चुनाव चिन्ह सूर्य चिन्हभित्र पाँच वटा तारा राखेर मागिने तयारी भएको छ । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ । महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमध्ये दुई जनालाई राख्ने, उपमहासचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराई रहने गरी तयारी भएको छ ।
सात उपाध्यक्ष र सात सचिव रहने र अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको छ । महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ ।
सम्भवतः माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेको शर्तमा लिखित सहमति भएमा २० प्रत्यक्ष निर्वाचितसहित माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल दर्ताको प्रक्रियामा भोलि नै जाने भएका छन् ।
शर्त बमोजिम २० जनाले राजीनामा दिएको स्थानमा तत्काल उपनिर्वाचन गरी उनीहरुलाई नै जिताउन गठबन्धन दलबाट उम्मेदवारी नहुने उल्लेख छ । माधव नेपालले एक वर्ष गठबन्धनबाट कुनै नेता प्रधानमन्त्री बनेमा चुनाव गर्दा ६ महिना आफू बन्न पाउनुपर्ने शर्त पनि सारेको बुझिएको छ ।
शर्त पूरा भएमा भोलि नै नेपाल अगाडि बढ्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्रबाट निष्काशित चार प्रतिनिधिसभा सदस्य खाली रहेको सिटमा उपनिर्वाचन हुँदा सोही दलका उम्मेदवारलाई नै गठबन्धनले साझा उम्मेदवार बनाउने सहमतिको खाकामा उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा सोभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय सकिदै जाँदा ओलीविरोधी गठबन्धनमाथि दबाब बढ्दै गएको छ ।
३० वैशाखको साँझ ९ बजेभित्र गठबन्धनबाट बहुमतको दाबी प्रस्तुत गरेर सरकार गठनमा नबढे ओली नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यसपछि ओलीविरोधी गठबन्धनबाट सरकार बनाउने सम्भावनाको ढोका बन्द हुन सक्छ ।
२९ वैशाख २०७८, बुधवार १४:५२ बजे प्रकाशित