भोलिदेखि केपी ओली जिम्मेवारीमुक्त, बन्ला बहुमतको नयाँ सरकार ?
देउवालाई प्रधानमन्त्री बनाउने टुङ्गो लागिसक्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमवार भोलिदेखि वर्तमान सरकार जिम्मेवारीमुक्त हुने बताएका छन् ।
त्यसपछिको केही दिनमा बहुमतको नयाँ सरकार बन्ने पनि प्रवक्ता श्रेष्ठको दाबी छ ।
गृह जिल्ला गोरखामा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै सरकारले कुनै हालतमा विश्वासको मत प्राप्त गर्न नसक्ने बताए ।
‘सरकारको अहिलेसम्मको प्रतिगमनकारी, निरङ्कुशतावादी, सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियामा असाध्यै छिपछिपेपन, कोरोना महामारी नियन्त्रणमा देखिएको नालायकीपन र असक्षमतालगायतका कारण सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन ।’
नेकपा एमालेकै नेपाल–खनाल समूहको भूमिकाले विश्वासको मत वा बहुमतको सरकार निर्माणमा प्रभाव पार्ला नि ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरूले के भूमिका गर्नुहुन्छ भन्नेबारेमा त केही भन्न मिल्दैन तर उहाँहरूले जे गरे पनि सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन र बहुमतको सरकार बन्छ ।’
एमालेको एक समूहले सांसदबाट राजीनामा गरे पनि वा जनता समाजवादी पार्टी मतदानमा तटस्थ बस्दा पनि प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसक्ने श्रेष्ठले बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेतालाई बहुमतको प्रधानमन्त्री बनाउने विषयमा टुङ्गो लागिसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
त्यस्तो अवस्थामा कसरी बहुमतको सरकार बन्न सक्छ ? भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘त्यो त भोट हालेपछि वा सही गरेपछि देखिन्छ, तपाईँहरूले पनि केही दिन पर्खिनुपर्छ ।’
२६ वैशाख २०७८, आइतवार १७:५५ बजे प्रकाशित