यी हुन सामूहिक राजीनामा दिने तयारी गरेका २३ सांसद (नामावली)

प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि सहमत नभएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद अन्ततः सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन्।
त्यसका लागि आज दिउँसो स्थायी कमिटी बैठक बसेर अन्तिम निर्णय गरिने नेपाल पक्षका एक सांसदले जानकारी दिए।
‘आज दिउँसो हामी बैठक बस्छौं र सामूहिक राजीनामा ककसले दिने भन्ने विषयमा अन्तिम निर्णय गर्छौं,’ आइतबार बिहान भने।
उनका अनुसार नेपाल पक्षमा २२ प्रत्यक्ष र १२ सामानुपातिक गरेर ३४ सांसद छन्।
प्रत्यक्ष
झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रसाद भट्ट, भवानीप्रसाद खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, मेठमणि चौधरी, झपट रावल, यज्ञराज सुनुवार र राजबहादुर बुढा
समानुपातिक
समानुपातिकतर्फ रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण, कल्याणी खड्कालगायत १२ जना छन्।
उनका अनुसार माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भएका छन् ।
यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ ।
नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । नेपाल निकट स्रोतका अनुसार २३ जना सांसदको राजीनामा तयार छ ।
अब केपी ओलीलाई सत्ताच्यूत गरेपछिमात्र नयाँ आधारमा एमालेको एकता खोज्ने वा नयाँ पार्टी गठन गर्ने बारे प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् । माधव नेपालसहित भीम रावल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएका छन् ।
माधव पक्षका एक सांसदले भने–हामीले राजीनामा पत्रमा हस्ताक्षर गरेर माधव नेतृत्वलाई बुझाएका छौं । दुःखका साथ भन्नुपर्छ अब एमाले एकता जोगाउन सकिएन ।
२६ वैशाख २०७८, आइतवार ०९:११ बजे प्रकाशित