राष्ट्रियसभा निर्वाचनमा एमाले-एमालेको बीच भिडन्त

राष्ट्रियसभाको  रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले–एमालेबीच भिडन्त हुने भएको छ ।

केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने कांग्रेस, माओवादी गठबन्धनले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

वाम बुद्धिजीवी देवकोटालाई माओवादी, नेपाली काँग्रेस र माधव नेपाल पक्षको समर्थन रहनेछ । पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो ।

एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो ।

​लुम्बिनी प्रदेशमा एमालेको सांसदबाट राजीनामा दिइ काँग्रेस प्रवेश गरेका नेता दूगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएपछि बागमतीमा खनाल नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाइएको राष्ट्रियसभाका माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए ।

०७६ असारमा देवकोटाले बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन्।

देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई कार्य गरेका देवकोटाले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकारका रुपमा काम गरिसकेका छन्।

२४ वैशाख २०७८, शुक्रवार १२:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु