विश्वासको मत नपाएकै दिन प्रधानमन्त्रीले संसद भंग गर्नुहुन्छ : वर्षमान पुन

 २३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले विश्वासको मत नपाएकै दिन प्रधानमन्त्री केपी ओलीलेसंसद भंग गर्न सक्ने बताएका छन् ।

बिहीबार संसद भवन नयाँवानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै नेता पुनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले यहि वैशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् ।

संसदमा प्रधानमन्त्रीले विश्वासको मत नपाउने उनले दाबी गरे । विश्वासको मत नपाउने जान्दा जान्दैप्रधानमन्त्री ओली विश्वासमो मत लिने नाममा असंवैधानिक बाटोतिर जान खोजिरहेको उनको टिप्पणी छ ।

‘प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुहुन्न र अरु कुनै बाटोतिर, असंवैधानिक बाटोतिर जान खोज्नुभएको छ’ नेता पुनले भने । त्यो बाटो के हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘विश्वासको मत प्राप्त हुँदैन ।

अनि जसरी लुम्बिनीमा चलखेल भयो असंवैधानिक रुपले, अराजनीतिक रुपले त्यस्तै खालले अब म नै हो ठूलो दल, त्यहाँ गएर मैले विश्वासको मत पाउँदिन, त्यसपछि संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको कुनै नेताले विश्वास पाउँदैन भने मै हुँ सबै भनेर विश्वासको मत नपाएको दिन नै संसद विघटन गर्ने र अरु ठाउँमा राजनीतिलाई विषयान्तर गर्ने, फेरि अराजनीतिक, असंवैधानिक, अलोकतान्त्रिक ढङ्गले काम गर्न खोज्नुभएको छ भन्ने एकदम स्पष्ट छ ।’

यहि देखेर आफुहरुले सरकारलाई दिएको समर्थन लामोसमयसम्म फिर्ता नलिएको उनको प्रष्टीकरण छ । आफुहरुले सरकारलाई दिएको समर्थन कायम राखेका कारण प्रधानमन्त्री ओलीले बाध्य भएर विश्वासको मत लिन खोजेको उनको दाबी छ ।

‘हामीले समर्थन फिर्ता लिएपछि यि फिर्ता लिए, मलाई अस्थिर बनाए भन्नुहुन्थ्यो, हामीले समर्थन गरिराखेको हुनाले बाध्य भएर आफ्नो वास्तविक राजनीतिक चरित्र देखाउनुभएको हो’ नेता पुनले भने ।

ओलीले संसदमा विश्वासको मत नपाएपछि सहज रुपले दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने उनको विश्वास छ ।‘ उहाँ (प्रधानमन्त्री)ले विश्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलहरुको सरकार बन्नेतर्फ मार्गप्रशस्त गर्नुपर्छ, त्यसअनुसार राष्ट्रपतिले आव्हान गर्नुपर्छ’ नेता पुनले भने ।

कांग्रेस, माओवादीले नयाँ सरकार बनाउन सक्छ ? भन्ने प्रश्नमा उनले भने, ‘हामी संवैधानिक विकल्पभित्र खुल्ला छौं ।’ कोरोना महामारीमा भन्दा सरकार अन्यत्र केन्द्रीत भएको भन्दै उनले प्रधानमन्त्री ओलीको आलोचना गरे ।

देशको अभिभावकले सबै दल, सबै क्षेत्रलाई कोरोना रोकथाममा सहकार्य गरौं, सर्वपक्षीय संयन्त्र बनाऔं, राजनीतिक मतभेद थाँती राखौ भन्नुपर्नेमा त्यसो नभनेको उनको भनाई छ ।

२०७२ सालमा गएको विनाशकारी भुकम्पलाई सम्झिँदै उनले भने, ‘महाभूकम्पका बेला प्रधानमन्त्रीको अपिलमा सबै दल पुनर्निमाणमा लागेको होइन र ? त्यो होइन र राजनीतिक गार्जियनसिप भनेको ?’ संसदले ५ वर्षे कार्यकाल पुरा गरोस र नियमित रुपमा मुलुक निर्वाचनमा जाओस भन्ने आफुहरुको चाहना रहेको उनले सुनाए ।

२३ वैशाख २०७८, बिहीवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु