विरोधका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले बहुमत आफूहरुसँग रहेको दाबी गर्दै शपथ रोक्न माग गरे पनि प्रदेश प्रमुख यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर पोखरेललाई शपथ खुवाएका हुन् । आइतबार दिउँसो देखिनै धर्ना दिएका विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालय नाराबाजी गरेर शपथ रोक्न खोजेपछि बाक्लो सुरक्षा घेराबीच प्रदेश प्रमुख यादवलाई मुख्यमन्त्री कार्यालय लगेर शपथ खुवाइएको हो ।

सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ ९२० अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ ९१० अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै बिहान राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनीको राजनीतिक जोडघटाउ छिनछिनमै फेरिएको छ ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्यमध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेस गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । तर प्रदेश प्रमुख यादवले यसअघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यस्तै आर्थिक तथा योजनामन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाल नियुक्त भएका छन् ।

दोस्रो चरणमा भौतिक पूर्वाधार मन्त्रीमा जसपाका सन्तोष पाण्डे र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा बिजयबहादुर यादव नियुक्त भएका छन् ।

१९ वैशाख २०७८, आइतवार २३:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु