फेरियो झलनाथको बोली, अब ओली सरकार टिकाउन लागिपर्ने
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दुई वर्ष चल्नुपर्ने धारणा राखेका छन्।
केही दिनअघि प्रचण्ड–माधव समूहमा लागेर प्रधानमन्त्री ओली र ओली नेतृत्वको सरकारको तिखो आलोचना गर्दै हिँडेका वरिष्ठ नेता खनाल अब यो सरकार दुई वर्ष चल्नुपर्ने बताएका हुन्।
‘हाम्रो एमालेको सरकार छँदैछ, यो सरकार अबको दुई वर्षे कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्छ,’ सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भने,‘एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार दुई वर्ष जानुपर्छ म चाहन्छु।’
नेकपा नाम विवादबारे सर्वोच्चको फैसलापछि सरकार परिवर्तनका लागि प्रयास भइरहेका बेला उनले आफूहरू सरकार जोगाउनै पक्षमा लाग्ने बताएका छन्।
आफूहरू सरकार जोगाउने पक्षमा रहे पनि संसदको खेलमा के हुने भन्न नसकिने उनले जिकिर गरे।
‘संसद भनेको सर्वोच्च राजनीतिक मञ्च हो, सम्पूर्ण राजनीतिक पार्टीले खेल खेल्ने ठाउँ हो,’ उनले भने,‘नयाँ खेलको सुरुवात हुन्छ, त्यसको परिदृष्य कस्तो हुन्छ। तपाईंहरूले विस्तारै हेर्दै जानुहुनेछ।’
संविधानको मर्म र भावनाअनुरुप अगाडि बढ्नुको कुनै विकल्प नरहेको उनले बताए।
२८ फागुन २०७७, शुक्रवार ०८:०७ बजे प्रकाशित












