अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपतिको पत्र सिधै सभामुखलाई

१७ फागुन, काठमाडौं । प्रतिनिधिससभा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र सिधै सभामुख अग्निप्रसाद सापकोटाकहाँ पुगेको छ ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम ३ मा अधिवेशन आह्वान र अन्त्य सम्बन्धी व्यवस्था छ ।

‘राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवशेन आह्वान गरेको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवले सदस्यलाई दिनेछ’ नियम ३(१) भनिएको छ ।

तर, सोमबार सभामुखलाई सम्बोधन गरेर अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुख सापकोटाकहाँ पुग्यो । सचिवालयमा केहीबेर छलफल भएपछि सभामुख सापकोटाले ‘ग्रहण गरौं’ भनेपछि स्वीकार भएको उनको सचिवालयले जनाएको छ ।

यसअघि राष्ट्रिय सभाको मात्रै बैठक आह्वान हुँदा राष्ट्रिय सभाको अध्यक्षलाई अधिवेशन आह्वानसम्बन्धी पत्र पठाइएकाले यसपटक प्रतिनिधिसभाको बैठक मात्रै बोलाउँदा सभामुखलाई पत्र पठाइएको राष्ट्रपति कार्यलयले गरेको तर्कमा सहमत भइएको सभामुखको सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि गत असार १८ गते संसद अधिवेशन अन्त्य गरेको थियो । प्रतिनिधिसभाको वर्षे अधिवेशन अन्त्य भएको ८ महिनापछि अर्को अधिवेशन सुरु हुन लागेको हो ।

१७ फागुन २०७७, सोमवार २०:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु