हामीलाई अदालतप्रति भरोसा छ,आयोगले पनि विवेकसम्मत निर्णय गर्नेछ – दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अदालतप्रति भरोसा रहेको बताएका छन् ।

शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू शान्ति प्रक्रियामा आएदेखि अदालतले थुप्रै पटक सकारात्मक निर्णय गरेको भन्दै संविधान विपरीत विघटन भएको प्रतिनिधि सभाको हकमा पनि सर्वोच्च अदालतले सकारात्मक निर्णय गर्ने आशा व्यक्त गरे ।

आफ्नो नेतृत्वमा रहेको नेकपा नै आधिकारिक पार्टी भएको भन्दै निर्वाचन आयोगले प्रचलित संविधान ऐन नियमका अनुसार आफ्नो विवेक प्रयोग गरेर निर्णय दिने दाहालले विश्वास व्यक्त गरे ।

असंवैधानिक तरिकाले गणतन्त्रको हत्या गर्ने प्रयास भएको भन्दै उनले पार्टीको आधिकारिकता र चुनाव चिन्ह प्रदान गर्दा अर्को षडयन्त्र हुनसक्ने भएकाले आफूहरू अलिकति भयवित भएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने सूचना आफूले विहान साढे पाँच बजे पाएको उल्लेख गर्दै सूचना पाएपछि विकल्प लिएर छलफल गर्न जाँदा समय दिएर प्रधानमन्त्री ओलीले हठात् निर्णय गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाए ।

उनले केपी ओली ‘केपी बा’ भन्दा खुशी हुने भन्दै केपी ओली स्वीकार्य नभएको बताए ।

अर्का नेता झलनाथ खनालले नेकपाबाट केही चोटिएर गएको भन्दै रुखका बोक्रा जाँदा रुख नढल्ने तर्क गरे। उनले केपी ओलीमा अहमता र स्वेच्छचारिता बढेको भन्दै आलोचना गरे ।

खनालले केपी ओलीमा शत्रुता साँध्ने प्रवृत्ति रहेको भन्दै ओलीलाई गोमन सर्पसँग तुलना गरे ।

१० पुस २०७७, शुक्रवार १६:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु