प्रचण्डको कार्यकर्ता भएपछि माधवले एमालेको सम्पत्ति दाबी गर्न मिल्दैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा नेकपा विभाजन भएको स्वीकार गरेका छन् । उनले एकीकरण सफल नभएको स्वीकार्दै भने, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ ।’

केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या केही धेरै जस्तो देखिए पनि ग्राउण्डमा केही नभएको ओलीले बताएका छन् । उनले आफ्नो पक्षसँग ग्राउण्डमा विशाल जनाधार रहेको दाबी गरे ।

‘उहाँले ९९ मा पुगेको ठान्नु भो र १०० मा पुगेको भनेर यस्तो हतार गर्नुभयो । तर, लुडो खेलेजस्तो दुईमा झर्नुभयो’, ओलीले बुधबार राति एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘म धेरै बहस गर्न चाहन्न उहाँहरु चुनावमा जान यति घबराउनु भएको किन रु यति आत्तिनु भएको किन रु चुनाव हुनुहुँदैन भनेर किन भन्नुभयो रु जनतासँग यस्तो त्रास किन रु किनभने दुईमा झर्ने उहाँहरुले देख्नुभएको छ ।’ उनले थपे, ‘माथि उहाँहरुको संख्या होला तल ग्राउण्डमा छैन । मसँग सोली घोप्ट्याएजस्तो छ, टुप्पामा थोरै तल विशाल । हेर्नुहोला नेपाली जनताले कसरी फैसला गर्छन् ।’

जिल्लाका विभिन्न पार्टी कार्यालय कब्जा हुन थालेको विषयमा सोधिएको प्रश्नमा उनले आफू राजनीतिलाई अस्वस्थ ढंगले लैजानुहुन्न भन्ने पक्षमा रहेको बताए ।

प्रचण्डले विभाजन भइसकेपछि उनको पार्टी कार्यालयको सम्पत्ति लिएर जाने तर पूर्व एमालेको सम्पत्ति आफैसँग रहने उनले बताए ।

उनले पूर्वएमालेको पार्टी कार्यालयमा अहिले फुटेर गएका प्रचण्डले त के माधव नेपालले पनि दावी गर्न नमिल्ने बताए ।

‘उहाँ प्रचण्डले आफ्नो पार्टी लिएर जानुभयो त्यसमा अर्को पार्टीका हिजोका केही साथीहरु लाग्नुभयो होला । मैले पनि आफ्न पार्टी लिएर जाने हो । हिजोका प्रचण्डजीका केही साथीहरु पनि मसँग होला । तर विभाजन भएको माधव नेपाल र मेरो होइन । झलनाथ खनाल र मेरो होइन । विभाजन भएको प्रचण्डजीसँग हो’, उनले भने ।

‘प्रचण्डजीले उहाँहरुको पार्टी कार्यालयको सम्पत्ति लिएर जानुहुन्छ’, ओलीले भने, ‘पेरिसडाँडाको सम्पत्तिको हकदावी म गर्दिनँ ।’ प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपालले दाबी गर्न नमिल्ने उनको तर्क थियो ।

‘उहाँ प्रचण्डकीको सेकेण्डमेन भएर हिड्नुभएको छ नि त । प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ । त्यही नेतृत्वको मातहतमा रहन सिक्नुपर्यो नि’, ओलीले नेपाललाई भने ।

यस्तै प्रधानमन्त्री ओलीले प्रचण्डले आफूलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय चार्ली च्याप्लिनको जोक जस्तो भएको जिकिर गरे ।

८ पुस २०७७, बुधवार २३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु