मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ– राष्ट्रपतिसँग भेटेपछि मात्रै अध्यादेश फिर्ता

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकचोटि राष्ट्रपतिलाई भेटेपछि मात्रै अध्यादेश फिर्ता लिने विषयमा निर्णय लिइने बताएका छन् ।
साँझ बसेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई ब्रिफिङ गर्दै यस्तो बताएका हुन् ।
यसअघि प्रचण्डसंगको भेटमा पनि ओलीले यस्तै बताएका थिए ।
बुधबार आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका थिए । तर, बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित देखिएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले आजै साँझ ६ बजे डाकिएको क्याबिनेट बैठकबाट संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले प्रचण्डलाई भने,‘एकचोटि राष्ट्रपतिलाई भेटेपछि फिर्ता लिउँला ।’
प्रचण्डले भेटेर आपत्ति जनाएपछि प्रधानमन्त्रीले आजै ५ बजे बोलाइएको संवैधानिक परिषदको बैठक भने स्थगन गरेका थिए ।
मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरिसकेपछि राष्ट्रपतिबाट अध्यादेश फिर्ताको औपचारिक निर्णय गर्नुपर्ने हुन्छ ।
तर, प्रधानमन्त्रीले अहिलेसम्म अध्यादेश फिर्ता लिन आनाकानी गरिररहेको प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुको आशंका छ ।
आजको क्याबिनेटले अध्यादेश फिर्ता नलिएमा यो ५ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक आपतकालीनरुपमा तत्काल बस्न सक्ने एक नेताले बताए ।
यसैबीच, बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर फर्केपछि खुमलटारमा आफू निकटका नेताहरुसँग प्रधानमन्त्रीसँग भएको कुराकानी ब्रिफिङ गरेका छन् । प्रधानमन्त्रीले अहिले पनि अध्यादेश फिर्ता लिन अन्कनाइरहेको प्रचण्डले आफू निकटका नेताहरुलाई बताएका छन् ।
२ पुस २०७७, बिहीवार १९:२५ बजे प्रकाशित