ओलीलाई एक नम्बर अध्यक्ष मानिदिनु मेरो कमजोरी भयोः प्रचण्ड

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र व्यापक ध्रुवीकरण भइरहेको बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले आफूलाई अपमानित गरेको र पार्टीलाई धोका दिएको भन्दै प्रचण्डले पार्टीभित्र वारपार हुने संकेत गरे।

यद्यपि नेकपा दुई फ्याक भएर नफुट्ने उनको दाबी छ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने धम्की दिइरहेको बेला प्रचण्डले कार्यकर्ताहरुमाझ यस्तो अभिव्यक्ति दिएका हुन्। आफूलाई भेट्न खुमलटार निवास पुगेका केही केन्द्रीय सदस्य र विद्यार्थी नेतासँग बुधबार साँझ प्रचण्डले पार्टीभित्रको आन्तरिक संघर्ष निर्णायक मोडमा पुगेरै छाड्ने दाबी गरे। प्रधानमन्त्री ओलीले पार्टी एकताको मूल मर्म बिर्सेको, गन्तव्य समाजवाद भनेर हुल्लडबाजीतर्फ पुर्‍याएको आरोप पनि लगाए।

उनले प्रधानमन्त्री ओलीसँग सहमति नभए उनलाई हटाउने प्रयास गरिने पनि बताए।

‘पार्टी एकता गर्दा नेकपारुपी जेट समाजवादतिरको यात्रामा जान्छ भनेका थियौं। तर, समाजवाद भनेर यो त हुल्लडबाजीतिर अगाडि बढिरहेको छ,’ प्रचण्डले भने, ‘समाजवादको भ्रम दिएर अन्तै यात्रा मोड्ने पाइलटलाई हटाइन्छ। त्यसपछि समाजवादतिरै यात्रा गर्ने यात्री र पाइलट तयार गर्ने हो।’

ओलीले आफूविरुद्ध निरन्तर जालझेल, षड्यन्त्र गरेकाले पार्टीभित्र संघर्ष सुरु भएको बताए।

‘प्रधानमन्त्रीसँग मैले पटकपटक सम्झौता गरेकै हो, मिलाएर लैजाने कुरामा सहमति गर्ने र एउटा समस्या टार्ने तर, कार्यान्वयन गर्दै नगर्ने, उल्टै विभिन्न ठाउँमा गएर मेरै विरुद्ध षडयन्त्र, जालझेल, बेइमानी गर्नुभयो,’ उनले भने, ‘यहीँबाट पार्टीभित्र नयाँ खालको संघर्ष सुरु भएको हो।’

प्रधानमन्त्री ओलीले व्यवस्थालाई खतरामा पारेको दाबी उनले गरे।

‘अहिले हजारौंको रगतबाट बनेको संविधान रहन्छ कि रहँदैन, हामीले लडेर ल्याएको व्यवस्था रहन्छ कि रहँदैन भन्ने चिन्ता छ,’ प्रचण्डले प्रधानमन्त्री ओलीले संघीयताका विषयमा दिएको अभिव्यक्तितिर संकेत गर्दै प्रचण्डले भने, ‘हामी हाम्रा उपलब्धि रक्षाका लागि लागेका छौं, यो संघर्ष त्यसतिर केन्द्रित छ, यसलाई निर्णायक मोडमा नपुर्‍याउँदासम्म यो संघर्ष रोकिँदैन।’

प्रचण्डलाई वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिँदै आएका छन्।

यस आधारमा अहिलेसम्म उनी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा बहुमतमा छन्।

२८ कात्तिक २०७७, शुक्रवार ०५:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु