नेकपाभित्र फरक पार्टीको अभ्यास गर्दै ओली पक्ष, गुट भेला सुरु

पदीय भागबन्डा नमिलेर मूल नेतृत्वबीच नै पार्टी फुट्ने र फुटाउने आपसी धाकधम्की चलिरहेका बेला नेकपामा थाती रहेको ‘जनताको बहुदलीय जनवाद ‘जबज’ को बहस ब्युँतिएको छ । त्यसको सुरुवात प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली स्वयंले प्रदेश १ बाट गरेका छन् ।

प्रधानमन्त्री ओली र सचिवालय सदस्य ईश्वर पोखरेलले बुधबार प्रदेश १ का आफूपक्षीय नेताहरूबीच ‘भर्चुअल बैठक’ गरेर जबजको पक्षमा माहोल बनाउन निर्देशन दिएका छन् । त्यसका लागि मदन भण्डारी फाउन्डेसनलाई वडास्तरसम्म विस्तार गर्न उनीहरूले प्रदेश १ का नेताहरूलाई निर्देशन दिएका छन् ।

निर्देशनमा उनीहरू पक्षीय स्थानीय नेताहरू सहमत छन् ।

पार्टीको राजनीतिक कार्यक्रम र मार्गदर्शक सिद्धान्तबारेको मतभेद चैतमा तय गरिएको एकता महाधिवेशनबाट टुंगो लगाउने सहमति नेकपाभित्र छ । त्यसैले पूर्वएमाले र पूर्वमाओवादी धारले भन्दै आएको क्रमशः जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई जोडेर नेकपाले हालका लागि ‘जनताको जनवाद’ लाई आफ्नो कार्यक्रम भनेको छ ।

तर पूर्वएमालेहरूलाई एक ठाउँमा राख्ने रणनीतिअनुरूप जबजको बहस सुरु गरिएको ओलीनिकट स्रोतको भनाइ छ ।

त्यसका लागि ओलीले सबै प्रदेशका आफूनिकट नेताहरूसँग परामर्श गर्ने तयारी गरेका छन् । गत भदौ २९ गते अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले जारी गरेको अन्तरपार्टी निर्देशनमा प्रतिष्ठान तथा फाउन्डेसनका कारण गुट झाँगिएकाले त्यो रोक्नुपर्ने उल्लेख छ ।

तर बुधबारको बैठकमा अध्यक्ष ओली र सचिवालय सदस्य पोखरेलले पार्टी एकताको डोरी चुँडियो भने आउने जस्तोसुकै परिस्थितिका लागि पनि तयार हुन आफूपक्षीय नेताहरूलाई निर्देश गरे ।

२० कात्तिक २०७७, बिहीवार ०७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु