कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, यस्तो भयो निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेसका आमन्त्रित सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनका कारण मंगलबारको पदाधिकारी बैठक स्थगित भए पनि कार्यसमितिको आकस्मिक बैठक सम्पन्न भएको हो ।

बैठकले केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । कांग्रेसले केसीप्रति सम्मान प्रकट गर्दै कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, साथै, उहाँको आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।’

साथै बैठकले बुधबार केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने, निधन भएको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने लगायत निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

२०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य चुनिएका केसीको सोमबार राति पोखरा महानगरपालिका– ७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको थियो ।

१८ कात्तिक २०७७, मंगलवार १६:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु