वर्षमान पुन, शक्ति बस्नेत र वीना मगरलाई मन्त्रीबाट हटाइदिने ओलीको धम्की

दाहालनिकट स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री वीना मगरलाई हटाइदिने धम्की दिएका छन् ।

“प्रधानमन्त्रीले तीन मन्त्री हटाइदिने मात्र भन्नु भएन, फिर्ता बोलाइएका तीन जनाको ठाउँमा पनि आफैले मन्त्री नियुक्त गर्छु भन्नुभो”, दाहालनिकट स्रोत भन्छ, “त्यहीँबाटै अध्यक्षद्वय बीचको पछिल्लो लफडा शुरू भएको हो। जुन बढ्दै गएर अलग होऔं न त भन्ने तहमा पुग्यो।”

प्रधानमन्त्री ओलीनिकट नेकपाका एक स्थायी कमिटी सदस्य पनि दाहालले आफूले सिफारिस गरेका मन्त्रीलाई फिर्ता गराउनुपर्ने र आफूले भनेकैलाई नयाँ मन्त्री बनाउनुपर्ने अडान राखेपछि पछिल्लो समस्या शुरू भएको बताउँछन्।

कुन कुन मन्त्रीलाई फिर्ता बोलाउने र कसलाई मन्त्री बनाउने भन्नेबारे नाम नखुलाए पनि उनले यसमा दाहालकै भूमिकाले समस्या निम्त्याएको दाबी गरे।

“दुई पार्टी एकिकरण भएर एउटै पार्टी बनेपछि पनि पूर्वमाओबादीबाट मैले भनेकै व्यक्ति हुनुपर्छ भन्दा समस्या भयो”, उनले भने, “पार्टीले मन्त्री नियुक्त गर्नेबारे एउटा मापदण्ड बनाउने, त्यसअनुसार प्रधानमन्त्रीले निर्णय गर्ने वातावरण बनाइएको भए यस्तो अवस्था हुँदैन्थ्यो।”

उनले दाहालको यही अडानका कारण पार्टीमा सहमति जुट्न नसकेको र दशैंअघि प्रधानमन्त्रीले रिक्त मन्त्रालयमा आफैले मन्त्री नियुक्त गर्नुपरेको दाबी गरे।

“जुन व्यक्तिलाई मन्त्री बनाउँदा सरकार सञ्चालन गर्न प्रधानमन्त्रीलाई सहज हुन्छ, त्यही व्यक्तिलाई मन्त्री बनाउने प्रधानमन्त्रीको अधिकार हो”, स्थायी कमिटीका ओलीनिकट ती सदस्यले भने, “दाहालले प्रधानमन्त्रीको क्षेत्राधिकारमै हस्तक्षेप गर्नेगरी अनावश्यक बखेडा झिकेपछि यो समस्या निम्तिएको हो।

१६ कात्तिक २०७७, आइतवार २२:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु