यी हुन प्रचण्डलाई मनाउन ओलीले खटाएका दुई नेता, जो खुमलटार धाइरहेका छन्

ओली प्रचण्ड तिक्तता कम नभएपछि ओलीले आफ्ना सारथीका रुपमा लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वय शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङलाई काठमाडौँ झिकाएर सहजीकरण गर्न खटाइरहेका छन् ।
पार्टीमा असहमतिको थुप्रो लागेपछि प्रचण्डलाई मनाउने प्रयासस्वरुप ओलीले पोखरेल र गुरुङलाई काठमाडौँ झिकाएर परिचालन गरेका हुन् ।
प्रचण्डलाई छलफलका लागि बालुवाटार आउन फोनमार्फत गरेको आग्रह प्रचण्डले अस्वीकार गरेपछि ओलीले प्रचण्डलाई मनाउन आफ्ना विश्वासपात्रहरुलाई खटाएका हुन् ।
सहजीकरण गर्न भन्दै पोखरेल र गुरुङ दसैँको टीकाको भोलिपल्ट अर्थात् कार्तिक ११ गते नै काठमाडौँ आएर प्रचण्डलाई भेट्दै संवादहीनताको अवस्था तोड्न र संवाद सुरु गर्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले नेताहरुसँगको भेटवार्ताबारे केही नबताउने प्रतिक्रिया दिए ।
उनले यतिमात्रै भने, ‘नेताहरुसँगको भेटवार्ताबारे म केही बोल्दिनँ । यसबारे अहिले मलाई केही बोल्न नलगाउनुुस् ।’
मुख्यमन्त्री पोखरेल यसअघि ओली र प्रचण्डबीचको विवाद मिलाउन साउन ३० गते गठित महासचिव विष्णु पौडेल संयोजकत्वको ‘समस्या समाधान सुझाव कार्यदल’का समेत सदस्य थिए ।
उनै पोखरेलले कार्तिक १३ गते बिहीबार ओलीको विशेष दूतकारुपमा प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डलाई मनाउने प्रयास गरेका थिए ।
त्यसअघि महासचिव विष्णु पौडेल र अर्का नेता सुवास नेम्वाङ पनि खुमलटार पुगेर प्रचण्डलाई तिक्तता मेट्न र संवाद अघि बढाउन सुझाव दिएका थिए ।
१४ कात्तिक २०७७, शुक्रवार १९:४६ बजे प्रकाशित