लालबाबु राउतविरुद्ध अविश्वास प्रस्ताव लैजान हस्ताक्षर संकलन
जनता समाजवादी पार्टी जसपा बहुमत सांसदले प्रदेश २ को मुख्यमन्त्री फेर्ने प्रस्ताव गरेका छन् । तर, यो निर्णयलाई कार्यान्वयन गर्न कि मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्छ कि अविश्वासको प्रस्ताव लैजानुपर्छ । यी दुबै विकल्पमा छलफल भइरहेको जसपा नेताहरुले बताएका छन् । अविश्वास प्रस्ताव लैजान हस्ताक्षर संक्लन आन्तरिक रुपमा सुरु भएको जनाइएको छ ।
सत्तारुढ जसपा नेपाल प्रदेश– २ को संसदीय दलको बैठकमा बोल्ने १९ जना प्रदेश सांसदले मुख्यमन्त्री राउत नेतृत्वको सरकारको कडा आलोचना गरे
जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव जनकपुर आएका बेला बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री राउत नेतृत्वको सरकार स्वेच्छाचारीरुपले चलेको र जनतालाई बेवास्ता गरेको आरोप सांसदहरुले लगाएका छन् । सांसदहरुले प्रदेश सरकार पूर्ण रुपमा असफल भएकोले सरकारको नेतृत्व नै परिवर्तनका लागि माग गरेका छन् ।
बैठकमा २४ जना प्रदेश सांसदले प्रदेश सरकारको विषयमा समीक्षात्मक मन्तव्य राखेका थिए । जसमध्ये १९ जना सांसदले राउत नेतृत्वको सरकार फेर्नुपर्ने माग गरेका छन् भने २ जना सांसदहरु तटस्थ धारणा राखेका छन् ।
१ कात्तिक २०७७, शनिवार ०७:४६ बजे प्रकाशित












