अविश्वास प्रस्तावले राम्रो गरेन : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कर्णाली विद्रोहका नेता यामलाल कँडेलसँग पार्टीमा छलफल नगरी अविश्वास प्रस्ताव ल्याएको राम्रो नगरेको बताएका छन्। शुक्रबार आफ्नै निवास खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

भेटमा निलम्बित प्रमुख सचेतक गुलाबजंग शाहीसहित प्रदेश पार्टी सचिव मायाप्रसाद शर्मासमेत सहभागी थिए। प्रचण्डले करिब अढाई घण्टा उनीहरू सबैसँग प्रदेशको विवादका विषयमा छलफल गरेको भेटमा सहभागी शर्माले जानकारी दिए।

‘हामीले कर्णाली प्रदेशमा भएका समस्याका विषयमा अध्यक्ष कमरेडलाई आफ्ना कुरा राख्यौं। उहाँ ९प्रचण्ड० कमरेडले पनि सबैका कुरा सुन्नुभयो,’ छलफलमा सहभागी प्रदेश सचिव शर्माले भने, ‘कर्णालीको सबै रिर्पोटिङ सुनेपछि अध्यक्ष कमरेडले एक पटक पार्टीमा सल्लाह गरेको भएहुन्थ्यो। त्यो मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध ल्याएको अविस्वास प्रस्तावले राम्रो गरेन भन्नुभयो।’

अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकको निर्णय बमोजिम संघ र प्रदेशको मन्त्रिपरिषद पुनर्पगठन गर्न आफूहरु पनि लागेको बताएका थिए। ‘हामीले स्थायी कमिटी बैठकपछि संघ र प्रदेशको मन्त्रिपरिषद पुर्नगठन गर्ने निर्णय गरेका थियौँ। त्यसै अनुरुप दुई अध्यक्षले गृहकार्य गरिरहेका थियौँ,’ प्रचण्डको भनाई उद्धृत गर्दै शर्माले भने, ‘तपाईंहरु यामलाल कँडेलले अविश्वास प्रस्ताव ल्याएर हामीलाई नै अप्ठयारो पार्नुभयो। यसले कता कता पार्टी एकतालाई असर पार्ने देखियो।’ पार्टीमा छलफल सल्लाह नगर्दा अरु प्रदेशमा समेत भाँडभैलो मिच्चिने संकेत देखिएको भन्दै प्रचण्डले चिन्ता व्यक्त गरेका थिए।

‘अध्यक्ष प्रचण्डले अविस्वासको प्रस्तावले कुनै अमुक व्यक्ति वा समूहलाई फाइदा त होला। तर यसले देश र जनतालाई कहीँकतै फाइदा गर्दैन,’ प्रचण्डको भनाई उद्धृत गर्दै शर्माले भने, ‘अविश्वास प्रस्तावले सरकार बनाउने ढाल्ने बनाउने खेलले राजनीतिक अस्थिरता मच्चाउने बाहेक केही हुँदैन।’

प्रचण्डको जवाफ सुनेपछि कर्णालीका सांसद कँडेलले संघीयताको पूर्ण अभ्यास मात्रै गर्न खोजेको जवाफ फर्काएका थिए। ‘हामीले कुनै व्यक्ति विशेषको फाइदाका लागि अविश्वास प्रस्ताव ल्याएको होइन,’ कँडेलको भनेका थिए, ‘संघीयताको पालना गर्दै विधिपद्धति बसाल्न अविश्वास प्रस्ताव ल्यायौँ।’

गत बिहीबार अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, इन्चार्ज जनार्दन शर्मा, सह–इन्चार्ज एवम् आर्थिक मामिला मन्त्री प्रकाश ज्वालालगायत नेताहरुलाई बोलाएर कर्णालीको रिपोर्टिङ लिएका थिए।

सोही छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका स्थायी कमिटी र केन्द्रीय सदस्यसमेत सहभागी थिए। यस्तै स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले कार्यकारी अध्यक्षले कर्णालीका विषयमा सबै पक्षसँग रिर्पोटिङ लिइरहेको बताए।

‘प्रचण्ड कमरेडले दुई अध्यक्षकै सल्लाहमा कर्णालीका समस्याका विषयमा सबै पक्षसंग रिर्पोटिङ लिइरहनु भएको छ,’ नेम्वाङले भने, ‘सबै पक्षको कुरा सुनेपछि दुई अध्यक्षले कर्णालीको समस्या सल्टाउनु हुन्छ।’

३० असोज २०७७, शुक्रवार २३:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु