नेकपा परित्याग गर्दै मातृका, नयाँ पार्टीको सदस्यता वितरण गर्दै

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति सदस्य मातृका प्रसाद यादवले गोप्य रुपमा नयाँ पार्टीको सदस्यता वितरण गर्दा पार्टीभित्र विवाद सुरु भएको छ।

मातृकाले नेकपा परित्याग गरी नयाँ पार्टी बनाउने उदेश्यले नयाँ पार्टीको सदस्यता वितरण गरिरहेको भन्दै नेकपाका नेताहरुले आपत्ति जनाएका छन्। प्रदेश नम्बर २ को आठ वटै जिल्लामा मातृकाले गोप्य रुपमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को संगठित सदस्यता वितरण गरिरहेका छन्।

मातृकाले नयाँ पार्टीको सदस्यता वितरण गरिरहेका सुचना केन्द्रसम्म पुगेपछि मातृकाले नयाँ पार्टी बनाउन लागेको भन्ने आशंका सुरु भएको छ।

मातृकाले नयाँ पार्टीको सदस्यता वितरण गरेको विषयमा जिल्ला–जिल्लामा विवाद भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेरै विवाद समाधानको प्रयास गरेको नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिए।

नयाँ पार्टीको सदस्यता वितरणसँगै मातृकाले धनुषामा नयाँ पार्टीको शैलीमा भेलाहरु गर्न थालेका छन्।

उद्योग मन्त्री हुँदा मातृकाले उखु किसानको भुक्तानी नदिई व्यापारीसँग लेनदेन गरेको, निम्बसलगायतको कम्पनी प्रकरणमा भ्रष्टाचार गरेको र मन्त्री भएको ६ महिनामै अरबौं रुपैंया भ्रष्टाचार गरी कमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मातृकालाई कारवाही गरी मन्त्रीबाट हटाएका थिए। त्यसपछि पार्टीले उनलाई प्रदेशमा कुनै पनि जिम्मेवारी दिएको छैन।

मातृकाले सदस्यता वितरण गरेर पार्टी विधान विपरीत कार्य गरेको नेकपाका नेताहरु बताउँछन्। प्रदेश कमिटीका सचिव सुमन प्याकुरेल मातृकाले सदस्यता वितरण गरेकोप्रति आक्रोश व्यक्त गरेका छन्।

मातृकाले नामको लागि पार्टी सिद्धान्त र विधिका कुरा गर्ने र आफैं पार्टी एकताको मर्म विपरीत पार्टीलाई घात पुर्याउने काम गरेको भन्दै सचिव प्याकुरेलले कारवाहीको माग गरे।

‘मातृका आफैं एकताको कुरा गर्नुहुन्छ। तर, आफैं विभिन्न जुवाखालदेखि चिया–पसलसम्म नयाँ सदस्यता बोकेर हिँडेका विभिन्न गुनासाहरु आइरहेका छन्।’ सचिव प्याखुरेलले भने, ‘म आफू पार्टी कमिटीको जिम्मेवार नेता भएकाले यस्ता गुनासाहरु आएपछि चुप बस्ने कुरा हुँदैन।’

तत्काल सदस्यता वितरण एवम् अनावश्यक भेला नरोके पार्टी नेतृत्वले कारवाही गर्नुको विकल्प नहुने र आफूहरु पनि चुप लागेर नबस्ने प्याखुरेलको भनाई छ।

मातृका यसअघि पनि माओवादीबाट अलग भएर केही दिन नयाँ पार्टी चलाएका थिए। नयाँ पार्टी चलाउन नसकेपछि पुनः माओवादीमा प्रवेश गरेका थिए। मातृकाले पुनः नेकपा परित्याग गरी नयाँ पार्टी बनाउन लागेको धनुषाका स्थानीयबासीहरु बताउँछन्।

२८ असोज २०७७, बुधवार २२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु