पार्टी फुट्न सक्ने झलनाथ खनालको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी फुट्न सक्ने चेतावनी वरिष्ठ नेता झलनाथ खनालले दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पक्षका तीन नेतालाई मन्त्री बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेता खनालले अब नेकपा फुट्न सक्ने आफु निकटका नेताहरुसँग भनेको एक नेताले बताए ।

‘प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावलाई पूृर्णतः बेवास्ता गरेर मनपरी ढंगबाट अघि बढ्न थाल्नुभयो । यसले पार्टी फुटसम्म पुर्याउन सक्छ’ ती नेताले भने ।

नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने, ‘प्रधानमन्त्रीले सचिवालयमा छलफलै नगरी मनपरी ढंगबाट निर्णय गर्नुभएको छ, माधव र झलनाथ कमरेडहरुलाई थाहै नदिई मनपरी ढंगबाट निर्णय भएको सुनियो ।’

बुधबार दिउँसो पार्टीका शीर्षनेताहरुलाई पत्तै नदिई तीनजना मन्त्री थप्दा प्रधानमन्त्रीले तीनवटै खाली मन्त्रालयमा आफ्नै गुटका नेतालाई राखेका छन् ।

यसअघि अर्थ मन्त्रालय डा युवराज खतिवडाको बहिगर्मनपछि खाली भएको थियो । त्यहाँ महासचिव विष्णु पौडेललाई ल्याइएको छ ।

अर्थमन्त्री विष्णु पौडेलमाथि बिचौलिया दीपक भट्टसँग साँठगाँग रहेको आरोपसमेत लाग्दै आएको छ । यसअघि दीपक भट्टका दाजु सुशील भट्टराई लगानी बोर्डको सीईओ बनाउँदाखेरि पनि विष्णु पौडेलको नाम विवादमा आएको थियो ।

माधव नेपाल पक्षले सिनियर नेता बेदुराम भुसाल वा सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्ने दाबी गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफूनिकट महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीमा रोजेका छन् । पूर्वमाओवादीका नेताहरुले भने महासचिव पौडेलले प्रदेश ५ को राजधानीसँग अर्थमन्त्री साटेको आरोप लगाउँदै आएका छन् ।

गोकुल बास्कोटाले विवादमा परेर राजीनामा दिएपछि सञ्चार मन्त्रालय खाली भएको थियो, जहाँ ६ महिनासम्म डा। खतिवडाले नै नेतृत्व गरेका थिए । अहिले सञ्चारमा आफ्नै प्रियपात्र पार्वत गुरुङलाई सरुवा गरेर ल्याइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अन्ततः यति होल्डिङ्ससँग नजिक रहेका भनिएका पार्वत गुरुङलाई ल्याइएको छ । यसअघि गुरुङ महिला, वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत थिए ।

गुरुङको सरुवापछि खाली रहेको महिला मन्त्रालयमा सिराहाका लीलानाथ श्रेष्ठलाई नयाँ नियुक्त गरिएको छ । महिला मन्त्रालयको जिम्मेवारी पनि अन्ततः पुरुषले नै पाएका छन् । र, यो मन्त्रालयमा ‘प्रचण्डपीडित नेता’का रुपमा चिनिने श्रेष्ठलाई ल्याएर प्रधानमन्त्री ओलीले प्रचण्डलाई मनोवैज्ञानिक सन्देश दिन खोजेको नेताहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले शहरी विकास मन्त्रालयमा पनि आफ्नै गुटका कृष्णगोपाल श्रेष्ठलाई ल्याएका छन् । यसअघि यो मन्त्रालय समाजवादी पार्टीका ईस्तियाक राईले सम्हालेका थिए । उनको बहिर्गमनपछि बसन्त नेम्वाङले भौतिक पूर्वाधारसहित यो मन्त्रालय सम्हालेका थिए ।

यसरी तीनवटा खाली मन्त्रालयहरुमा नयाँ मन्त्री थपिँदा सबैजना ओली समूहकै नेता मात्र परेका छन् । प्रधानमन्त्री ओलीले मन्त्री छनोटमा आफ्नो एकलौटी अधिकार रहेको प्रष्ट सन्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएका छन् । उनलाई उपप्रधानमन्त्रीकै रुपमा यथावत राखेर प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिएको छ ।

निजामति क्षेत्रमा कुनै सचिवलाई जिम्मेवारी नदिई जगेडामा थन्क्याउनुपर्‍यो भने प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइन्छ । यसैगरी पोखरेलले कुनै मन्त्रालयको जिम्मा पाएका छैनन् र प्रधानमन्त्री कार्यालयमा थन्क्याइएका छन् ।

२८ असोज २०७७, बुधवार २०:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु