अविश्वासको प्रस्ताव फेस गर्ने प्रचण्ड-नेपाल पक्षको निर्णय

केन्द्रीय नेताहरुसँग सल्लाहा नगरि कर्णाली प्रदेशका नेताहरुले मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सृजना भएको राजनीतिक तरंगले नयाँ मोड लिने भएको छ ।

प्रस्ताव फेल गराउन प्रदेश स्तरमा मुख्यमन्त्रीले प्रमुख सचेतक हटाउने देखि नयाँ सचेतक तोक्ने सम्मका काम गरिसकेका छन् भने केन्द्रमा शीर्ष नेताहरु पनि छलफलमा जुटेका छन् ।

सोमबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग यसै विषयमा परामर्श गरे ।

प्रधानमन्त्री ओलीले यस विषयमा आफूलाई पहिलानै जानकारी भएको संकेत गर्दै केन्द्रबाट कर्णाली प्रदेशले पनि सिकेको प्रतिक्रिया दिएको अध्यक्ष निकट श्रोतले बतायो । केन्द्रमा प्रधानमन्त्री ओली विरुद्ध अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झालनाथ खनाललगायतले राजिनामा मागेको विषय प्रधानमन्त्रीले जोड्न खोजेका थिए । त्यसपछि प्रचण्डले नेता नेपालसँग परामर्श गरे ।

किनकी मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमा नेता नेपाल पक्षधर र पूर्व माओवादीका समेत ३ सांसद सहभागि थिए ।

श्रोतका अनुसार पूर्व माओवादीले आफ्ना तीनै सांसदलाई प्रस्ताव फिर्ता लिन निर्देशन दिईसकेको छ । पार्टीको योजना र निर्देशन बिना आफ्नै पार्टीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु पार्टी नीति र अनुशासन विपरित हुने ठहर गर्दै प्रस्ताव फिर्ता लिन निर्देशन दिएको हो ।

अध्यक्ष प्रचण्डसँगको छलफल अनुसार नेता नेपाल पक्षले पनि आफ्ना सांसदहरुलाई सकेसम्म छिटो निर्णय फिर्ता लिन निर्देशन दिनेछन् ।

नेकपाको ३३ सदस्यी कर्णाली प्रदेश संसदीय दलमा सभामुखबाहेक ३२ जनाले मतदान गर्न पाउनेछन् । ३२ सदस्य मध्य १३ जना पूर्वमाओवादी तथा २० जना पूर्व एमालेका छन् । पूर्व माओवादीका ३ र नेता नेपाल पक्षका केही सांसदले अविश्वासको प्रस्तावबाट आफ्नो सर्मथन फिर्ता लिनेमा केन्द्रका नेताहरु विश्वस्त देखिएका छन् ।

यसो भएमा नेता कंडेलले ल्याएको अविश्वासको प्रस्ताव असफल हुने देखिएको छ । त्यस्तै अध्यक्ष प्रचण्ड र नेता नेपालका बीचमा नेपाल पक्षीय नेताहरुलाई पनि निर्णयबाट फिर्ता गराउने समझदारी बनेको छ ।

आपसमा देखिएका समस्या पार्टीमा बसेर छलफल गर्न सकिने विधि हुंदा हुदै पार्टीको योजना विपरित आफ्नै मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु गलत हुने कुरामा नेता नेपाल समेत सहमत छन् ।

प्रधानमन्त्री ओलीले नै कर्णाली प्रदेशका आफ्ना निकटस्थ कंडेललाई यस्तो कदम चाल्न लगाएको हुनसक्ने आशंका भेटमा नेता नेपालले व्यक्त गरेका थिए ।

 

२६ असोज २०७७, सोमवार २१:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु