कमल थापाले छोडे अडान,चुनाव चिन्ह झण्डा, गाई र हलो राख्ने सहमति
राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई पार्टीबीच भएको एकीकरण निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । पशुपति शम्शेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले पार्टी एकीकरणसम्बन्धि आधार पत्रबमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच भएको एकीकरण निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो ।
एकीकृत पार्टीको विधान राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच भएको मिति २०७६ फागुन २४ को एकीकरणसम्बन्धि आधार पत्रबमोजिम पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने बैठकले निर्णय गरेको छ । त्यस्तै साविक राप्रपाको विधान एकीकृत पार्टीको अन्तरिम विधान हुने सहमतिअनुसार अगाडि बढ्ने बैठकमा सहमति बनेको छ ।
तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गर्दाको बखत पेश भएको विधान र प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन २०७४ मा पेश भएको राजनैतिक घोषणा पत्रलाई एकीकरणपश्चातको राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन आयोगमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले साविक राष्ट्रिय प्रजातन्त्र पार्टीको “गाई” अंकित रातो, पहेँलो र निलो रंगको झण्डा एकीकृत पार्टीको झण्डा बनाउने निर्णय गरेको छ । त्यस्तै पार्टीको चुनाव चिन्ह हलो कायम गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले पार्टीको एकता महाधिबेशन २०७८ बैशाख २५ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
६ असोज २०७७, मंगलवार १७:०३ बजे प्रकाशित













