मन्त्रिपरिषद् पुनर्गठन पक्का, प्रधानमन्त्रीको तीन विकल्प
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प पेश गरेको स्रोतले जनाएको छ ।
पहिलो : अहिलेका सबै मन्त्रीलाई हटाउने
दोस्रो : सुरुमा मन्त्री भएकाहरुलाई हटाउने
तेस्रो : केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने
बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । ‘सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ’ प्रचण्डले भनेका छन्, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ ।
वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
बैठकपछि एक सचिवालय सदस्यले भने, ‘आजको छलफल हेर्दा दुई कुरा प्रष्ट भएको छ, मन्त्रिपरिषद् पुनर्गठन हुन्छ र सबै मन्त्री हट्दैनन् । तर कोको हट्ने, कोको मन्त्री बन्ने, कहिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने जस्ता विषय टुंगिन बाँकी नै छ ।’
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।
अर्का एक सचिवालय सदस्यका अनुसार मन्त्रिपरिषद् पुनगर्ठन दशैं अगाडि नै पनि हुनसक्छ, दशैं पछाडि पनि धकेलिनसक्छ । यो सचिवालयको छलफल कति लम्बिन्छ भन्नेमा निर्भर हुन्छ ।
साथै मन्त्री छनोटका लागि दुई अध्यक्षका साथै सचिवालय सदस्यहरुसँग पनि छलफल हुने उनले बताए ।
४ असोज २०७७, आइतवार १६:३६ बजे प्रकाशित













