सदस्यता नविकरणमा लफडा : पूर्व माओवादीको ३ लाख नमान्ने पूर्व एमालेको चेतावनी

नेकपाभित्र शीर्ष नेताहरुबीचको आन्तरिक विवाद समाधान भए लगत्तै संगठन विभागमा लफडा शुरु भएको छ ।
उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभागको आइतबार दिउसो बसेको बैठकमा पूर्व एमाले र पूर्व माओवादीको तर्फबाट सदस्यता नविकरणको विषयलाई लिएर लफडा भएको हो ।
नेकपा संगठन विभागको आइतबार बसेको बैठकले नेकपाका पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय भएसँगै पूर्व माओवादीका तर्फबाट ३ लाख सदस्यको रहेको जनाइएको थियो ।
तर उनीहरुको लिखित रुपमा कुनै पनि कागाजात नभएकाले त्यसलाई आधिकारिक नमान्ने पूर्व एमालेका नेताहरुले अडान लिएपछि लफडा शुरु भएको हो ।
महाधिवेशनमा केन्द्रित रहेर सदस्यहरुको तत्काल नवीकरण गर्ने निर्णय भएसँगै पूर्व माओवादीहरुले ३ लाख सदस्यहरुको नविकरण गर्नुपर्ने जनाएका थिए ।
पूर्व एमालेहरुको व्यवस्थित रुपले सदस्यहरुको विवरण राखिएको तर पूर्व माओवादीहरुले कागजात विनै नविकरण गर्नुपर्ने भन्न थालेपछि विवाद शुरु भएको बैठकमा रहेको नेकपा स्रोतले जनाएको छ । संगठन विभागमा उपाध्यक्ष गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेका छन् ।
आइतबार बसेको बैठकले मंसिरभित्र नवीकरण गर्ने गरी संगठन विभागले तीन महिने कार्ययोजना तयार पारेको हो ।
असोज मसान्तभित्र सदस्यहरूको विवरण संकलन गर्ने, कात्तिकभित्र अद्यावधिक र मंसिरभित्र नवीकरण गर्ने निर्णय संगठन विभागले गरेको हो ।
गत माघमा बसेको केन्द्रीय कमिटीले २०७६ को चैत मसान्तभित्रनै सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो। कोरोना प्रकोपको कारणले नवीकरण हुन नसकेको हो ।
नेकपाले आउदो चैत २५ देखि चैत ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशन हुने भएपछि संगठन विभागले दुवै पार्टीका सदस्यहरुको नविकरण प्रकृया अघि बढाएको छ ।
नेकपामा २०७४ सालदेखि कुनै पनि पार्टी सदस्यको सदस्यता नवीकरण भएको छैन । पूर्वएमालेका ५ लाख र पूर्व माओवादीका ३ लाख गरी ८ लाख पार्टी सदस्य रहेको नेकपाको दावी छ । तर माओवादीका तर्फबाट प्रस्तुत गरिएका सदस्यको विवरण भने हचुवामा आएको भन्दै पूर्व एमालले नविकरण गर्न आनाकानी गरेका हुन् ।
२८ भदौ २०७७, आइतवार २२:३६ बजे प्रकाशित