पहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानान्तरण गर्न देउवाको माग
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा पहिरोको जोखिममा रहेकालाई तत्काल सुरक्षित स्थानान्तरण गर्न माग गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक-पटक पहिरोले क्षति गरेको उल्लेख गर्दै भूगर्भविदहरूले औंल्याएका जोखिम वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्।
उनले गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ विभिन्न स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको तत्काल खोजी गर्न समेत आग्रह गरेका छन्।
“घाइतेहरूलाई उपचारको प्रबन्ध गर्न तथा पीडित परिवारलाई अतिआवश्यक सामग्रीहरू– खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु’, देउवाले विज्ञप्तिमा भनेका छन्।
देउवाले उद्धार र राहतको काममा थप सक्रिय भएर लाग्न कांग्रेसका नेतारकार्यकर्तालाई अपील गरेका छन्।
२८ भदौ २०७७, आइतवार १५:५१ बजे प्रकाशित













