निशेधाज्ञामा विप्लव समुहको गतिविधि शुन्य

कोरोना भाइरस कोभिड –१९ को महामारीको समयमानेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको गतिविधि शुन्य रहेको पाइएको छ।
प्रहरी स्रोतका अनुसार विप्लवका गतिविधि शुन्य छन् । कुनै सुरक्षा चुनौती पनि छैन् । केही समय अघि मात्रै विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्माप्रकाण्डले एक विज्ञप्ति जारी गर्दै केही ठेकदार र सरकारी कर्मचारीमाथि कारबाहीको चेतावनी दिएका थिए ।
काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा भ्रष्टाचार गरेको भन्दै रेल विभागका हाकिम र ठेकदारहरुका साथै मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउने ठेकदार प्रचण्डका घरबेटी समेत लाई सरकारले तत्काल कारबाही गर्न प्रकाण्डले माग गरेका थिए ।
सरकारले उनीहरुमाथि कारवाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तर, उक्त विज्ञप्तीलाई आधार मानेर कुनै सुरक्षा चुनौतीका कुरा नभएको प्रहरीको भनाई छ । तथापि आफुहरु सर्तक रहेको प्रहरी स्रोत बताउँछन् ।
विप्लव सहुमले भने किसानहरूको धानबाली असोजबाट पाक्न थाल्ने उल्लेख गर्दै भनेको थियो, ‘किसानहरु मल अभावले छटपटाइरहेका छन ।
वर्षेबालीका निम्ति आवश्यक पर्ने मल आपूर्तिको निम्ति भनेर सरकारले पौष–माघ महिनामा ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली कांग्रेसका नेताहरुका रक्षाकवच शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी प्रचण्डका घरबेटी र होविको मल्टीपल कम्पनीका होमनाथ कोइरालालाई कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो ।
जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौं पुल र सडकहरु वर्षौंसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकदारहरु राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पतिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरु हुन् ।’
बोल कबोल अनुसार सम्बन्धित ठेकदारले मल आपूर्ति नगर्दा, लाखौंलाख किसानको धान बाली बिग्रिँदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदासमेत सरकार र कृषि मन्त्रालयले ठेकदारलाई कारबाहीको त के कुरा, सोधपुछसमेत नगरेको प्रकाण्डको आरोप छ ।
पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता विश्वकर्माले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कृषिमन्त्री बंगलादेशबाट ५० हजार टन मल सापटी ल्याउने प्रयास सकारात्मक भएको फलाक्छन् । यो कार्य घोर आपतिजनक, किसानहरूको बालिनाली माथिको खेलबाड र राष्ट्रका विरुद्ध अक्षम्य अपराधिक खेलका रुपमा पार्टीले लिएको छ ।’
यो चेतावनी बाहेक निशेधाज्ञामा विप्लवका कुनै गतिविधि नभएको प्रहरी अधिकारीहरु बताउँछन् ।
विप्लव समुहले पनि यो बेला आक्रामक गतिविधि नगर्ने रणनीति अख्तियार गरेको पाइएको छ ।
२३ भदौ २०७७, मंगलवार १२:५५ बजे प्रकाशित