जनतालाई हानी पुर्याउने ठेकेदारसँग मन्त्रालय बेखवर रहन सक्दैन: मन्त्री भुसाल

कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसालले समयमा मल नल्याउने ठेकेदारलाई कडा कारबाही गरिएको बताएका छन् ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले ठेकेदारले समयमा रासायनिक मल नल्याउँदा कृषकमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेका छन् ।
मन्त्री भुसालले समयमा मल नल्याउने दुई ठेकेदारमाथि कारबाही गरिएको जानकारी दिए ।
कृषकले धान रोपेपछि हाल्नुपर्ने मल ठेकेदारले समयावाधिसम्म पनि नल्याएपछि मन्त्रालयले कारबाही गरेको हो ।
ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै उनीहरुको धरौटी जफत गर्ने निर्णय गरेको मन्त्री भुसालले जानकारी दिए ।
‘मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुसँगको ठेक्का रद्द गरिएको छ, धरौटी रकम जफत गरिएको छ’, उनले भने, ‘जनता र राज्यलाई हानी पुर्याउने यस खालका कुनै पनि गतिविधिप्रति मन्त्रालय र मन्त्रालय मातहतका निकायहरु बेखवर रहन सक्दैनन् ।’
त्यस्तै उनले दुई ठेकेदारमाथि कारबाही गरेर आफूले सुशासनका लागि थालिएको महत्वपूर्ण कदमका रुपमा लिएको बताए ।
सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल पैचों मागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग पैचौंमा युरिया मल उपलब्ध गराईदिन आग्रह गरेका थिए । प्रधानमन्त्री हसिनाले ५० हजार टन यूरिया मल सापटी दिने आश्वासन दिएकी छन् ।
२१ भदौ २०७७, आइतवार १९:३३ बजे प्रकाशित