कांग्रेसभित्रको रडाँको उरालियो, पौडेलले बोलाए देउवाविरुद्धको रणनीतिक बैठक
नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार रणनीति बैठक बेलाएको छ ।
शनिबार दिउँसो २ बजे पौडेल समूहले आफूनिकट केन्द्रीय सदस्यको भर्चुअल बैठक बोलाएको नेता अर्जुनरसिंह केसीले जानकारी दिए ।
विभाग गठन, क्रियाशील सदस्यता वितरण र तेस्रो भ्रातृ संस्थाको कार्यकाल थपलगायतका विषयमा दबाब दिन छलफल केन्द्रित हुने उनले जानकारी दिए । सभापति देउवाले विभागमा मनोनयन नरोकेपछि पौडेल पक्ष ‘एक्सन’मा उत्रिन खाजेको छ ।
सभापति देउवाले बुधबार र बिहीबार सूचना सञ्चार तथा प्रचार र शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्य गरी ९६ जनालाई मनोनयन गरेका छन् ।
जसबाट पौडेल समूह थप आक्रोशित बनेको छ । पौडेल समूहले सभापतिका निर्णय फिर्ताका लागि आजको बैठकबाट दबाबका कार्यक्रम तय गर्नेछ ।
निर्णय खारेज गर्न सशक्त प्रतिरोधमा उत्रिनुपर्ने आवाज पौडेल समूहमा उठेको छ । पौडेल समूहले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएर अनशन र सत्याग्रहमा बस्नेसम्मको रणनीति बनाइरहेको केसीले बताए ।
यसअघि तत्कालीन सभापति सुशील कोइरालाले तीन–साढे तीन वर्षमा विभाग गठन गर्दा देउवाले पनि केन्द्रय कार्यसमितिबाट राजीनामा दिएर अनशन र सत्याग्रहमा उत्रिएपछि निर्णय फिर्ता भएको थियो ।
केसीले भने, ‘उहाँ अहिले आफैँले स्थापित गरेको मान्यताविपरीत निर्णय गर्दै जानुभएको छ। हामी पनि उहाँले हिजो अवलम्बन गरेको बाटोमा जान बाध्य हुन्छौं। यसको निर्णय आज छलफलबाट लिइन्छ ।’
२० भदौ २०७७, शनिवार १४:०३ बजे प्रकाशित





