कांग्रेसको महाधिवेशन ६ महिना पर सार्ने तयारी

कोरोना संक्रमणले समायोजन र सदस्यता वितरण वितरण प्रभावित

 

नेपाली कांग्रेसको १४औँ महाधिवेशन कांग्रेसको महाधिवेशन छ महिना पर सार्ने तयारी भएको छ ।

कोरोना महामारीका कारण कांग्रेसको संगठनहरू समायोजन र विभिन्न कार्यहरू प्रभावित भएपछि १४औँ महाधिवेशन सर्ने पक्का भएको हो । कांग्रेसका एक नेताले कोरोना महामारीले फागुनमा महाधिवेशन हुने अवस्था नरहेको बताए ।

०७८ भदौ महिनासम्म महाधिवेशन सार्ने तयारी भएको एक जना केन्द्रीय सदस्यले बताए । उनले भने, ०७८ को भदौ महिनासम्म महाधिवेशन सार्ने विषयमा छलफल भइरहेको छ । कोरोना महामारी त्यस बेला पनि रोकिएन भने पुनः सार्नुपर्ने अवस्था आउन सक्छ ।’

विधानअनुसार गत फागुनमा १४औँ महाविधेशन गरिसक्नु पर्ने थियो । तर, पार्टीभित्रको आन्तरिक विवादका कारण कांग्रेसको महाधिवेशन विथालिदै आएको छ ।

१३औँ महाधिवेशन पनि साढे पाँच महिनामा भएको थियो । साउन २२ गतेको बैठकमा जेठ वा वैशाखमा महाधिवेशन गर्न केही नेताहरूले प्रस्ताव नै गरेका थिए ।

कांग्रेसको गत आसारमा  बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुनमा तय भएको मितिमै महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसबेला महाधिवेशन सार्नुपर्ने विषय उठेको भएपनि नसार्ने निर्णय समितिले गरेको थियो ।

०७६ गत पुस ११ को बैठकले महाधिवेशन फागुन ७–१० मा हुने तालिका सार्वजनिक गरेको थियो ।

कोरोना भाइरसका कारण महाधिवेशन गर्न सकिँदैन कि भन्ने आवाजलाई गत असार तेस्रो साताको बैठकले सम्बोधन गरेको थिएन ।

कांग्रेसलाई के–के अप्ठ्यारा ?

कांग्रेस केन्द्रीय कार्यसमितिको २२ असारको बैठकले तल्लो तहको अधिवेशन दुई महिनापछि गर्ने गरी नयाँ कार्यतालिका परिमार्जन गर्‍यो । महाधिवेशन पहिलेकै मितिमा अर्थात् आगामी ७–१० फागुनसम्म काठमाडौंमा गर्ने गरी केन्द्रीय समितिले तल्ला तहका अधिवेशनको परिमार्जित कार्यतालिका बनाएको छ ।

नयाँ कार्यतालिकाअनुसार आन्तरिक समायोजन १० साउनसम्म गरिसक्ने र क्रियाशील सदस्यताको अन्तिम सूची मंसिरसम्म सार्वजनिक गरेर अधिवेशनका कार्यक्रममा अघि बढाउने भन्ने छ । तर, नयाँ कार्यतालिका आए पनि कांग्रेसका लागि प्रतिकूलता भने सकिएका छैनन् ।

कोरोना संक्रमणको जोखिम, आन्तरिक संरचनामा समायोजन, सदस्यता, वर्षायाम र चाडबाडले कार्यतालिकाअनुसार काम हुन गाह्रो हुने नेताहरूकै बुझाइ छ ।

पहिलाको कार्यतालिकामा १६ कात्तिकमा वडा तहबाट सुरु गरेर २९ मंसिरमा सात प्रदेशको अधिवेशन गरिसक्ने थियो । तर, कोरोना भाइरसपछिको अप्ठ्यारोका कारण कांग्रेसले काम गर्न सकेन । संघीयताअनुसारका पार्टी संरचना समायोजनका काम पनि समयमा भएनन् । क्रियाशील सदस्यताको गाँठो फुकेन । कांग्रेसमा क्रियाशील सदस्यता विवाद अहिलेको होइन, १३औँ महाधिवेशनदेखि सकिएको छैन । अहिले पनि अवस्था जहाँको त्यहीँ छ, त्यसैले परिमार्जित कार्यतालिकाअनुसार काम हुन्छ भन्नेमा नेता–कार्यकर्ता ढुक्क छैनन् ।

कांग्रेसको तालिकाअनुसार गाउँ–नगर वडाको अधिवेशन ६ पुसमा, गाउँ–नगर अधिवेशन ८ पुसमा, प्रदेश सभास्तरीय क्षेत्रीय अधिवेशन ११ पुसमा, प्रतिनिधिसभास्तरीय क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशनमा १३ पुसमा, एकभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशन १६ पुसमा र प्रदेश अधिवेशन ६ माघमा हुनेछ ।

संगठन समायोजन : विवाद देखाउने ठाउँ

संगठन समायोजनको समय १० साउनसम्म तोकिएको छ । तर, पार्टीमा औपचारिक रूपमा अहिलेसम्म ५१ जिल्लाको मात्रै पूरै समायोजन सकिएको छ । २६ जिल्लाको बाँकी नै छ । यिनै बाँकीको विषयलाई देखाएर नेतृत्वलाई समायोजन सकिएको छैन भन्दै ढिलाइ गर्ने बहाना मिल्ने देखिन्छ ।

तर, सहमहामन्त्री डा. प्रकाशशरण महत जसरी पनि महाधिवेशन समयमा हुने जिकिर गर्छन् । ‘पार्टी संगठनको समायोजनको काम अब धेरै बाँकी छैन ।

निर्देशिकाले तोकेअनुसार समायोजन टुंग्याएर अघि बढ्न समस्या छैन । समायोजन टुंगिएपछि सदस्यता वितरण, नवीकरणको काममा अघि बढ्छौँ,’ महत भन्छन्, ‘यी काममा अघि बढेपछि कोरोना संक्रमण नियन्त्रणको स्थिति रह्यो भने महाधिवेशनका कार्यक्रम अवरुद्ध हुँदैनन् । रोग धेरै नै बढेर गयो, गाह्रै अवस्था भयो भने मात्र हो समस्या हुने । अन्यथा हामी महाधिवेशनको तयारीलाई निरन्तर अघि बढाउँछौँ ।’

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि समायोजनमा गलत नियतले ढिलाइ गरिएको टिप्पणी गर्छन् । ‘समायोजनमा नियत राम्रो भएन । नियत राम्रो भएको भए निर्वाचन समितिको निर्देशिकाअनुसार सहज रूपमा हुन्थ्यो, तर केन्द्रका नेताले नै बिगारे,’ पौडेल भन्छन्, ‘क्रियाशील सदस्यता वितरणमा पनि पुरानामा ५० प्रतिशत थपको निर्णय केन्द्रले गरेको छ । पुराना सदस्यताको भेलाले कसलाई दिने भन्ने निर्णय गर्न गाह्रो र जटिल छैन ।’ केही ठाउँमा सदस्यता लिने धेरै हुँदा समस्या हुने भए पनि यस्ता विषयलाई मिलाउन समस्या नहुने पौडेल बताउँछन् ।

क्रियाशील सदस्यता : प्रभुत्व जमाउन सदस्यमा आँखा

कांग्रेसमा क्रियाशील सदस्यबाटै महाधिवेशन प्रतिनिधि छनोट हुन्छन् । सदस्यमा आफ्नो गुटनिकट धेरैलाई पार्न सके महाधिवेशनमा हाबी हुन सक्ने भएकाले पनि नेताहरूबीच आफ्नो गुटकालाई सदस्य बनाउने होडबाजी चल्छ ।

‘कांग्रेसमा विगतका महाधिवेशनको अभ्यास हेर्ने हो भने विवाद क्रियाशील सदस्यतामा नै देखिन्छ । क्रियाशील सदस्यतामा धेरै विवाद भयो भने निष्पक्ष महाधिवेशन टर्छ । यस्तो हुन नदिन समयमै सदस्यता छानबिन समिति गठन हुनुपर्छ,’ केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला भन्छन्, ‘तर, १३औँ महाधिवेशनमा विवाद भएका सदस्यताको विषय जिल्लामा नपुगेको, अरू पार्टीबाट आएकाले दिएकोभन्दा अलग सदस्यता सूची आएकोजस्ता विवाद झिकिएको छ । यस्ता गुनासा बढ्दै जाँदा समयमा महाधिवेशन हुन गाह्रो हुन्छ ।’

अर्का केन्द्रीय सदस्य डा. शेखर कोइराला चार वर्षमा एकपटक सदस्यता दिँदा यस्ता समस्या आउने बताउँछन् । ‘सदस्यताको विषय जटिल होइन, जटिल गराइएको हो । चार वर्षमा एकपटक होइन, हरेक वर्षमा एकपटक किन नवीकरण नगरेको ?’ कोइराला भन्छन्, ‘महाधिवेशनको मुखमा आफूनिकटकालाई मात्र सदस्य दिन खोज्ने अनि दोष अरूलाई दिन मिल्दैन । हुलमुलमा सदस्यता वितरण गरेर आफू मात्रै बलियो हुने कुरा अब हुन सक्दैन ।’

कोरोना, वर्षायाम र चाडबाडको असर कति ?

संगठनात्मक कामले भद्रगोल हुँदाहुँदै कांग्रेसलाई कोरोनाका कारण अधिवेशनका कार्यक्रम समयमा हुन सकेनन् भन्ने देखाउने विषय बन्यो ।

पार्टीले महाधिवेशनसहितका पार्टी गतिविधि नै स्थगित गरिदियो । कोरोना संक्रमणको दर झन् बढेर जाँदा फेरि पनि समायोजन, सदस्यता नवीकरण र वितरणपछि अधिवेशन फेरि पनि समयमा हुन्छ भन्ने शंका उत्पन्न भएको छ ।

त्यस्तै, वर्षायाममा संगठनको काम गर्न हिमाली, उच्च पहाडी र बाढीग्रस्त तराईका जिल्लामा सहज छैन । वर्षायाम सकिएलगत्तै दसैँ, तिहार, छठजस्ता चाडबाड लगातार आउँछन् । यी चाडबाडले पनि पनि कांग्रेसको अधिवेशनका कार्यक्रमलाई प्रभाव पार्ने देखिन्छ ।

‘आगामी फागुनमा गर्न नसकिने भए एक–दुई महिना थप गरौँ भनेर मैले नै प्रस्ताव गरेको थिएँ । तर, सभापति र नेताले समयमा गर्न सकिन्छ भन्ने अड्डी लिनुभएको छ,’ सिटौला भन्छन्, ‘पार्टी संगठनका बाँकी काम, कोरोनाको जोखिम, बाढीपहिरो, चाडबाडजस्ता पक्षले गर्दा बरु दुई महिना थप गरेर गरौँ भन्दा उहाँहरू कड्किनुभयो । अब वचन दिइसकेपछि उहाँहरूले दायित्व पूरा गर्नुपर्छ ।’

देउवालाई समयको सुविधा कति ?

कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन भएर नयाँ नेतृत्व चयन हुनुपर्ने हो । २० फागुन ०७२ मा महाधिवेशन भएपछि गत १९ फागुनमा देउवाको नियमित चारवर्षे कार्यकाल सकिएको हो ।

तर, स्थानीय तहदेखि संसदीय निर्वाचनमा कांग्रेसले नमीठो पराजय व्यहोरेदेखि नै देउवालाई चारवर्षे कार्यकालभित्रै महाधिवेशन गर्न पार्टीभित्र दबाब बढेको थियो । तर, विधानले दिएको विशेष अवस्थामा एक वर्ष कार्यकाल थप गर्न पाउने सुविधालाई टेकेर देउवाले पार्टीका सबै तहको कार्यकाल एक वर्ष थप गरेका छन् ।

तर, थप गरिएको एक वर्षमा पनि महाधिवेशन गर्न देउवा नेतृत्वलाई जटिल हुने देखिन्छ । कुनै विशेष कारणविना नै एक वर्षको समय त्यत्तिकै थपिएको आरोप देउवामाथि छ । केन्द्रीय समितिको बैठकमा देउवाले जसरी पनि महाधिवेशन गराउने वाचा त गरेका छन्, तर यसअघिको पार्टीको सुस्त कामगराइ, कारोना रोगको जोखिम, पार्टीभित्रका आन्तरिक समस्याले फेरि पनि समयमा महाधिवेशन गर्न गाह्रै पर्ने देखिन्छ ।

यस्तोमा संविधानले ६ महिना थप गर्न सकिने समयको सुविधा दिएको छ । यस्तो सुविधाको विपक्षमा देउवाइतरका नेताहरू छन् । समयमा काम नगरी विशेष अवस्था भनेर अप्ठ्यारो देखाउन नहुने उनीहरूको निरन्तरको भनाइ छ ।

‘कांग्रेसका महत्वपूर्ण भ्रातृ संस्थाहरू नेविसंघ, तरुण दल, महिला संघ, किसान संघसहितका संस्था लामो समय अधिवेशनविना चले । यस्तो हुँदा पार्टी झन् कमजोर बन्न पुग्यो ।

यसैले पार्टीलाई बलियो बनाउन आफ्ना संस्थाको अधिवेशन समयमा हुनुपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला भन्छन्, ‘अबको फागुनमा चार वर्षमा एक वर्ष थपेको कार्यकाल पनि सकिँदै छ । पाँच वर्षमा पनि महाधिवेशन हुन्छ कि हुँदैन भन्ने संशय हुनु भनेको विडम्बनापूर्ण नै हुन्छ ।’

१२ भदौ २०७७, शुक्रवार १०:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु