राम मन्दिरसहित अयोध्याधाम बनाउन माडीमा जग्गा हेरिँदै

प्रधानमन्त्रीलाई भेटेर फर्किएको अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिले चितवनको माडीमा राम मन्दिरसहितको अयोध्याधाम निर्माणका लागि उपयुक्त जमिनको खोजी गरेको छ।

गत मंगलबार बसेको समितिको बैठकले अयोध्या मन्दिर निर्माणका लागि माडीका तीन ठाउँका ५०र५० विघा जमिनमध्ये कुनै ठाउँ उपर्युक्त हुने पहिचान गर्ने निर्णय गरेको छ।

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभई माडीको अयोध्यापुरी रामको जन्मस्थल रहेको बताएपछि यसले तरंग पैदा गरेको थियो।

सेतोपाटीसँग कुरा गर्दै समितिका संयोजक नारादमणी पौडेलले राम मन्दिरसहितको भव्य अयोध्याधाम निर्माणका लागि तीन स्थानको सिफारिस माडी नगरपालिकासमक्ष गरिएको बताए।

बैठकमा माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको पनि उपस्थिति रहेको थियो।

माडी–८ दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको जमिन, माडी–९ स्थित घाँगरखोलाको छेउमा रहेको कृष्णनगर पार्कको जमिन र माडी–९ मै रहेको गणेशकुञ्ज क्षेत्रको जमिनलाई मन्दिर निर्माणका लागि उपयुक्त ठहर गरिएको साविकको अयोध्यापुरी गाविसका अध्यक्षसमेत रहेका संयोजक पौडेलले बताए।

‘हामीले अयोध्या मन्दिर निर्माण गर्नका लागि केही अध्ययन गरेर तीन स्थानहरुमध्ये उपयुक्त रोज्न नगरपालिकालाई सिफारिस गरेका छौं’, पौडेलले भने, ‘कानुनीरुपले पनि सबैकुरा मिल्नुपर्ने भएकाले नगरपालिकाले सबैसँग समन्वय गरेर मन्दिर निर्माणस्थल छनोट गर्नेछ।’

तीनै स्थान चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन्। पौडेलले केही हप्ता अघि काठमाडौं पुगेर प्रधानमन्त्रीलाई भेटेपछि माडीबासी उत्साहित भएको भन्दै माडीमा भव्य अयोध्या मन्दिर निर्माण गर्नका लागि समिति सकृय रहने बताए।

समितिले केही दिनमै धार्मिक गुरु तथा अध्यताहरुसँग गोष्ठी गर्ने तयारी गरेको छ।

‘गोष्ठीमा प्राप्त सुझावका आधारमा हामी विज्ञ तथा प्राविधिकहरुसँग छलफल गर्नेछौं’, पौडेलले भने, ‘त्यसपछि मन्दिरको डिपिआर निर्माणको काम सुरु हुन्छ।’

माडीमा सामान्य मन्दिर नभई भारतमा बनाउन लागिएको जस्तै भव्यमन्दिर बनाउने गरी जमिनको छनोट गरिएको पौडेलले बताए।

मन्दिरका राख्नका लागि राम, सीता, लक्ष्मण र हनुमानको भव्य मूर्ति प्रधानमन्त्रीकोतर्फबाट बन्ने जानकारी प्राप्त भइसकेको भन्दै पौडेलले सरकारले आवश्यक बजेट विनियोजन गरे केही वर्षमा मन्दिर तयार हुने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीलले माडीका प्रतिनिधिहरुसँगको भेटमा २०७८ सालको रामनवमीमा मूर्ति प्रतिस्थापन गर्ने गरी तयारी थाल्न भनेका थिए।

माडी नगरपालिकाका मेयर ठाकुर ढकालले भदौ ७ गते बस्ने नगरपालिकाको बोर्ड बैठकले समितिले सिफारिस गरेको तीन स्थानमध्ये एक स्थान छनोट गरेर सरकारलाई सिफारिस गर्ने बताए।

‘तर हामी राम मन्दिर निर्माणस्थलकोमात्रै सिफारिस गर्दैनौं, समग्र माडीलाई निकुञ्जको नियन्त्रणबाट मुक्तगरी स्थानीय तहलाई सम्पूर्ण अधिकार दिन पनि माग गरेर जाँदैछौं’, ढकालले भने, ‘दुवै विषयलाई एक साथ सम्बोधन गरिनुपर्छ भन्ने हाम्रो अडान रहन्छ।’

उनले समग्र माडीको विषयलाई पन्छ्याएर राम मन्दिरको सिफारिसमा मात्रै निर्णय गर्न खोजे सिफारिसपत्र सबैको अगाडी च्यातिदिने उनले बताए।

उनले थपे, ‘बरु यसबापत जेल जान परेपनि छ तयार छु।’

उनले समग्र माडीको विकाससँगै राम मन्दिर निर्माण गरिनुपर्छ लागेको बताए।

‘माडी माथि चितवन निकुञ्जको अधिकार कटौती गरेर स्थानीय स्वायत्त शासन ऐन अनुसार पूर्णरुपमा स्थानीय तहअन्तर्गत ल्याइनुपर्दछ’, उनले भने।

धेरै ठाउँमा यस विषयमा कुरा उठाएपनि सुनुवाई नभएको भन्दै मेयर ढकालले यसपाली भने सरकारले केही निर्णय गर्ला कि भन्ने आशा जागेको बताए।

‘प्रधानमन्त्री यस विषयमा सकरात्मक हुनुहुन्छ भन्ने बुझेको छु, अध्यक्ष प्रचण्डले पनि सबै समस्या बुझ्नुभएको छ’, उनले भने, ‘हामी यसपाली राम मन्दिर निर्माण र माडीलाई मध्यवर्ती क्षेत्रबाट अलग गराउने निर्णय गराउन सक्दो प्रयास गर्नेछौं।’

मेयर ढकालकाअनुसार माडीमा अहिले करिब २ हजार ८ सय घर परिवार लालपूर्जाविहीन छन्।

‘यी जनतालाई आफ्नो घर र जमिन दिन सकियो भने मात्रै राम मन्दिर निर्माणको सार्थकता रहन्छ।

होइन भने मन्दिर मात्र निर्माण गरेर अर्थ छैन’, उनले भने, ‘दुवै निर्णय भयो भने हामी सकृयतापूर्वक राम मन्दिर निर्माणमा पनि लाग्छौं।’

५ भदौ २०७७, शुक्रवार १६:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु