जबजको रक्षाका लागि एमाले दर्ता गर्यौं : नयाँ एमाले

निर्वाचन आयोगमा दर्ता भएको एमालेका महासचिव मनीषकुमार उपाध्यायले नेकपाको अन्तरविरोध, विवादसँग कुनै साइनो नभएको बताएका छन् ।
निर्वाचन आयोगमा विधिवत् पार्टी दर्ता भएको प्रमाणपत्र बुझेपछि संक्षिप्त प्रतिक्रिया दिँदै जबज मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको रक्षा र विकासका लागि एमाले दर्ता गरेको बताएका छन् ।
‘हामीले देशको प्रचलित कानुनको अधीनमा रहेर पार्टी दर्ता गरेका हौं । हामी एमाले समर्थित थियौं । एमाले समर्थित हुनुको मुख्य कारण पनि जबज नै थियो । अहिले त्यही जबजको रक्षाका लागि पार्टी दर्ता गरिएको हो’ उनले भने ।
पार्टीभित्र विवाद उत्कर्षतिर पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा एमाले दर्ता गर्न निवेदन दिएको बताएका थिए ।
उपाध्याय यसलाई आधारहीन कुरा बताउँछन् । ‘हामीलाई एमाले मन परेर दर्ता गरेका हौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दर्ता भएको छ । कसैले दर्ता गर्न उक्साएर, दबाब दिएर गरेका होइनौं’ उनले भने ।
उनलेपार्टीले वैधानिकता पाइसकेकाले संगठन निर्माण र राजनीतिक गतिविधिमा केन्द्रित रहने पनि जानकारी दिए ।
३ भदौ २०७७, बुधवार २१:२१ बजे प्रकाशित