नेकपा कार्यदलको निष्कर्ष- प्रदेश १ र बागमतीको मुख्यमन्त्री बदल्नुपर्छ

शुक्रबारसम्म फाइनल प्रतिवेदन आउने

विवाद समाधानका लागि गठन गरिएको नेकपाको ६ सदस्यीय कार्यदलले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री बदल्नुपर्ने निष्कर्ष निकालेको छ ।

कार्यदलको बैठक मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो। बैठकले मन्त्रिमण्डल पुनर्गठन, महाधिवेशन कार्यतालिका र मुख्यमन्त्री फेरबदलको प्रस्ताव सहितको प्रतिवेदनको ड्राफ्ट तयार पारेको नेताहरुले बताएका छन् ।

कार्यदलले स्थायी समितिको बैठकमा उठेका एजेन्डासहित मन्त्रिमण्डल पुनर्गठन, प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री फेरबदल गर्न सुझाव दिने स्रोतले बतायो।

यस्तै, गएको माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय समितिको बैठकले तय गरेको चैत २५ देखि ३० सम्मको महाधिवेशन कार्यतालिकालाई उपयुक्त भनेर सिफारिस गर्ने पनि बताइएको छ।

‘पार्टीभित्रको सन्तुलन मिलाउन केन्द्रका केही मन्त्री तथा १ र बागमती प्रदेशको मुख्यमन्त्री फेर्न सुझाव दिन्छ,’ स्रोतले भन्यो, ‘त्यसबाहेक महाधिवेशनको कार्यतालिका बनाइदिन सक्छ। प्रधानमन्त्रीकै जोडबलमा गठन भएको कार्यदल भएकोले उहाँलाई समस्या हुनेगरी नयाँ कुरा आउने सम्भावना कम छ।’

नेकपामा एक नेता एक जिम्मेवारी, सरकार र पार्टी सञ्चालनको समीक्षा, विधि प्रक्रिया, पार्टीले सरकार सञ्चालन गर्नुपर्ने लगायतका विषय उठेको छ। यी सबै विषयलाई सूत्रबद्ध गर्दै समग्र पार्टीभित्रको विवाद समाधान गर्न कार्यदलले सुझाव पनि दिनेछ।

ओली र प्रचण्डबीच संवादहीनताको अन्त्य गर्दै बिहीबार र शुक्रबार भएको छलफलमा कार्यदल गठनको सहमति भएको थियो ।

सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेपछि मंगलबारदेखि उनीहरु काममा जुटेका हुन्।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

शुक्रबारसम्म फाइनल प्रतिवेदन आउने

कार्यदलले ढिलोमा शुक्रबारसम्म प्रतिवेदन बुझाउने गरी काम थालेको छ।

कार्यदलका एक सदस्यका अनुसार अब तीन दिनभित्रै प्रतिवेदन बुझाउनेगरी उनीहरु काममा खटिएका छन्।

‘मंगलबारदेखि काम अघि बढाएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘तीन दिनभित्र प्रतिवेदन बुझाउनेगरी काम भइरहेको छ।’

कार्यदल गठन भएको एक हप्तामै प्रतिवेदन बुझाउने योजनाका साथ कार्यदलले कामलाई तीव्रता दिएको छ।

‘कार्यदलले ढिलोमा शुक्रबारसम्म लिखित प्रतिवेदन बुझाउँछ,’ कार्यदलका ती सदस्यले भने, ‘आफ्नो तर्फबाट प्रतिवेदनलाई अन्तिम रुप दिनासाथ दुई अध्यक्षलाई बुझाउनेछौं।’

कार्यदलले प्रतिवेदन बुझाएलगत्तै ओली र प्रचण्डबीच शनिबार छलफल हुने सम्भावना रहेको उनको भनाइ छ।

‘हामीले प्रतिवेदन शुक्रबार नै हस्तान्तरण गर्न सक्यौं भने शनिबार दुई अध्यक्षबीच त्यसमाथि छलफल हुनेछ र त्यसपछि सचिवालय बैठक डाकिन सक्छ,’ उनले भने।

 

२ भदौ २०७७, मंगलवार २१:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु